सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान

आइतबार, असार ३० २०८१
पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान

केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका र रुपा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो।

कास्की- गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई ८४ लाख ९९ हजार आठ सय सात रूपैयाँ अनुदान प्रदान गरेको हो। 

केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका र रुपा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो।
 
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले छ सय ३७ किसानलाई नौ सय ६५ वटा पाडीबाच्छी हुर्काउन १० हजार रूपैयाँका दरले सहयोग गरिएको बताए। उनले यस कार्यक्रमका लागि ८५ लाख रूपैयाँ बजेट विनियोजन गरिएकामा शतप्रतिशत खर्च भएको जानकारी दिए।

'दूध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ किसानलाई आफ्नै गोठ र फार्ममा बाच्छी, पाडी हुर्काएर दूध उत्पादनमा उत्प्रेरित गर्न प्रोत्साहन रकम दिएका हौँ। यसबाट किसान खुसी हुनुहुन्छ', केन्द्र प्रमुख पाण्डेले भने। अनुदान कार्यक्रमले विदेशबाट गाईभैँसी आयात गर्नुपर्ने अवस्थाको बिस्तारै अन्त्य हुँदैछ । कास्कीका यस कार्यक्रम विगत तीन वर्षदेखि कार्यान्वयन भइरहेको छ। 

यसैगरी केन्द्रले चालु आवमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रममा एक करोड ४९ हजार सात सय ३८ रूपैयाँ किसानलाई अनुदान दिएको छ।

किसानलाई प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम प्रदान गरिएकोे जनाइएको छ। रासस


प्रकाशित : आइतबार, असार ३० २०८११२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend