सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

गण्डकीमा ५० प्रतिशत रोपाइँ, योवर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान

बिहीबार , असार २७ २०८१
गण्डकीमा ५० प्रतिशत रोपाइँ, योवर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान
फाइल तस्बिर

केही दिनयता मनसुन सक्रिय भएसँगै किसान रोपाइँमा व्यस्त छन्। यो वर्ष गण्डकीमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ। ,

गण्डकी- असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ।

सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयका प्रमुख वासुदेव रेग्मीका अनुसार यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ। केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँमा व्यस्त रहेका छन्। यही असार १५ गते सम्ममा प्रदेशमा १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा त्यसयता बढेर ५० प्रतिशत पुगेको उनले जानकारी दिए।

अधिकांश क्षेत्रमा असारभित्रैमा रोपाइँ सकिने प्रमुख रेग्मीले बताए। बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुने गरेको छ। आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यवस्त छन्।

यो वर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ। प्रदेशको कुल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धान लगाइने गरिएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिइन्। हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको उनको भनाइ छ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ। धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको छ। गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन्।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ।

गण्डकीका किसानले सावित्री, रामधान, जेठोबूढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend