सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

बिहीबार , असार २७ २०८१
किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव टंकप्रसाद प्रसाईँले गुणस्तरीय उत्पादनका आधारमा किसानलाई अनुदान दिने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए।

तनहुँ- वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन्।

जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताले वास्तविक किसानको पहिचान गरी सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद हरिबहादुर चुमानले किसानको पहिचान र वर्गीकरण गरी अनुदानको व्यवस्था गरेमात्रै किसानको जीवनस्तर माथि उठ्ने बताए।

'सुक्खा र वर्षायाममा हुने कृषि र पशुजन्य विपद्को अवस्थामा किसानका समस्या सम्बोधन गर्न सम्बन्धित मन्त्रालयमा विपद् कोष स्थापना गरिनुपर्छ', उनले भने, 'कोष स्थापना गरेमा विपद्‌मा परेका किसानलाई तत्काल राहतको व्यवस्था गरी विस्थापित हुनबाट जोगाउन सकिन्छ।' 

प्रदेशसभा सदस्य श्यामराजा महतले किसानलाई प्राथामिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। उनले किसान आत्मनिर्भर बन्दै गए नागरिकको जीवनस्तरमा सुधार हुनुका साथै मुलुकको अर्थतन्त्रलाई सबल र चलायमान बनाउन सकिने धारणा राखे।

गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव टंकप्रसाद प्रसाईँले गुणस्तरीय उत्पादनका आधारमा किसानलाई अनुदान दिने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए। अवैधानिक आयातलाई निरुत्साहित गरी स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय र प्रदेश सरकारले नीति बनाएर कार्यान्यन गर्नुपर्नेमा उनले जोड दिए।

'कृषिलाई रुपान्तरण गर्न आधुनिकीकरणमा जोड दिइनुपर्छ। बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन किसानको पुनःस्थापना कार्यक्रमलाई प्राथामिकता दिन आवश्यक छ', सचिव प्रसाईँले भने, 'वास्तविक किसानको पहिचान गरी विभिन्न तहमा वर्गीकरण गरेर बीमा र सहुलियतमा ऋण दिने व्यवस्था गर्न सके किसान लाभान्वित हुनुका साथै विस्थापितहरूलाई पुनःस्थापन गर्न सकिन्छ।' 

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कृषिलाई संरक्षण र संवर्द्धन गर्न व्यावसायिक कृषि पेसालाई जोड दिनुपर्ने बताए। कृषिलाई सुलभ ब्याजदरमा ऋण प्रवाह गर्न वर्गीकरण गरी उत्पादन परिणामका आधारमा अनुदान दिने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछाने र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेशकुमार चौधरीले कार्यालयले वार्षिक रूपमा गरेका गतिविधिका बारेमा जानकारी दिएका थिए। कार्यक्रममा जिल्लाका १० वटै पालिकाका व्यावसायिक किसान, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend