सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

सोमबार, असार २४ २०८१
मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल (४२.९ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको थियो।

काठमाडौं- समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यही असार २३ गतेसम्म सातै प्रदेशमा कुल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए। सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ।

आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा २५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्यांकमा उल्लेख छ।

देशभर रोपाइँ हुने क्षेत्रफल कुल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ। सबैभन्दा धेरै मधेसमा तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ। अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल (४२.९ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको थियो।

नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। माग ६२ लाख मेट्रिक टन रहेको छ। नेपालमा गत वर्ष अपेक्षाअनुसारको मात्रामा धान उत्पादन भएको र यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने सूचना अधिकारी चौलागाईँले बताए।

यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपाल प्रवेश गरेको हो। यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नेपालमा सामान्यतया मनसुन अवधि सरदर जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ। यद्यपि मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, असार २४ २०८११४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend