सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नवलपुरमा व्यावसायिक स्याउ खेती

सोमबार, असार २४ २०८१
नवलपुरमा व्यावसायिक स्याउ खेती

अधिकतम ४० डिग्री सेल्सियससम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ।

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु-३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ।

प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलोपटक मधेसमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो।

एएफसीआरसीले अधिकतम ४० डिग्री सेल्सियससम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ। यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ। प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम-९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिए। 'यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ', उनले भने, 'बिरुवा रोपेको दुई वर्षपछिनै फल दिन थालेको छ।'

एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ। एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन्। गर्मी धेरै भएकाले केही स्याउका दानाहरु फुटेको उनले बताए। यहाँ लगाइएको स्याउको फल पहेँलो रङ  र स्वाद फुजी स्याउको जस्तै हुने उनको भनाइ छ।

एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ। यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ।

एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ। गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा कीटाणुरहित वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ। छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ।

टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो। उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उनले बताए।

केराको बिरुवा प्रतिगोटा ३५ देखि ६० रूपैयाँसम्म र बाँसको बिरुवा प्रतिगोटा एकसय ३० रूपैयाँमा बिक्री गरिन्छ।

टिस्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार २४ २०८११३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend