सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कृषि आधुनिकीकरण परियोजना : गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २१ २०८१
कृषि आधुनिकीकरण परियोजना : गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि

हाल ‘गहुँ सुपरजोन’ तीन हजार हेक्टर,‘तेलहन जोन’ एक हजार पाँच सय हेक्टर र ‘धान जोन’ आठ सय हेक्टर क्षेत्रफलमा सञ्चालित छ।

कैलाली- कैलालीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि भएको छ। जिल्लामा परियोजनामार्फत सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’ र ‘धान जोन’अन्तर्गत उक्त बालीको उत्पादकत्वमा वृद्धि भएको हो।

जिल्लास्थित परियोजना कार्यान्वयन इकाईकी सूचना अधिकारी रीतु धामीका अनुसार कार्यक्रम सञ्चालित क्षेत्रमा गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिकटन प्रतिहेक्टरबाट वृद्धि भइ हाल चार दशमलव चार, तोरीको शून्य दशमलव नौबाट वृद्धि भइ एक दशमलव पाँच र धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भइ पाँच दशमलव २७ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ।

लागत घटाएर कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले सञ्चालित परियोजनाअन्तर्गत जिल्लामा ‘गहुँ सुपरजोन’ आव २०७३/७४, ‘तेलहन जोन’ आव २०७४/७५ र ‘धान जोन’ आव २०७८/७९ देखि सञ्चालन गरिएको उनले जानकारी दिए। 

हाल ‘गहुँ सुपरजोन’ तीन हजार हेक्टर,‘तेलहन जोन’ एक हजार पाँच सय हेक्टर र ‘धान जोन’ आठ सय हेक्टर क्षेत्रफलमा सञ्चालित छ।

परियोजनाले ५० प्रतिशत अनुदानमा बीउ, विषादी, आवश्यक कृषियन्त्र उपकरण वितरण गर्नुका साथै प्राविधिक सहयोग गरिएको उनले बताए।

चालु आवमा तीन वटै जोनमा आठ हजार नौ सय ३५ किसान आवद्ध रहेका सूचना अधिकारी धामीले जानकारी दिए।

उनका अनुसार ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडामा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वटा वडामा सञ्चालनमा छन्। रासस


प्रकाशित : शुक्रबार, असार २१ २०८११६:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend