सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पशुपालनलाई प्रोत्साहन गर्न डालेघाँस उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २१ २०८१
पशुपालनलाई प्रोत्साहन गर्न डालेघाँस उत्पादन

नर्सरीमा हुर्काइएका बिरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपीलगायत छन्।

तनहुँ- पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डालेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ। व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डालेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो।

किसानको मागअनुसार राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीलगायत डालेघाँसका साथै अन्य विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। यस वर्ष उत्पादन गरिएका ८५ हजारमध्ये ३० हजार बढी डालेघाँसका बिरुवा उत्पादन गरिएको छ। 

श्रेष्ठका अनुसार विभिन्न प्रजातिका करिब पैतिस हजार बिरुवा वितरण गरिसकिएको छ। उनले भने, 'नर्सरीमा बिरुवा लिन अहिले दैनिक किसानको घुइँचो लाग्ने गरेको छ।' उत्पादित तयारी बिरुवा यही असार १५ गतेदेखि वितरण गर्न थालिएको हो।

गण्डकी प्रदेश सरकारबाट वार्षिक कार्यक्रमका लागि कम बजेट विनियोजन भएकाले बर्सेनि बिरुवा उत्पादन घट्दै गएको भन्दै यस वर्ष पनि गत वर्षको तुलनामा कम उत्पादन गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिए। उनले भने, 'घाँसका बिरुवा रोपेर गोठमै बाँधेर पशुपालन व्यवसाय गर्न सहज होस् भनेर बिरुवा उत्पादनलाई प्राथमिकता दिइएको हो।'  

वनजङ्गलमा पशु चौपायका लागि चरन क्षेत्र ह्रास हुँदै गएकाले पशुपालक किसानलाई आहार व्यवस्थापनमा सहजता गराउने उद्देश्यले व्यावसायिक कृषि फार्मलाई घाँसका बिरुवा सहयोग गरिएको श्रेष्ठले बताए।

नर्सरीमा हुर्काइएका बिरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपीलगायत छन्।

'पछिल्ला समय पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले बर्सेनि डालेघाँसका बिरुवा उत्पादन गरी वितरण गर्दै आएका छौँ', अधिकृत श्रेष्ठले भने, 'प्रदेश सरकारबाट बजेट कम विनियोजन भएकाले यस वर्ष थोरै बिरुवा उत्पादन गरिएको हो।'

चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुई वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो। 

जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएपछि घाँसका बिरुवा उत्पादनमा जोड दिन थालिएको डिभिजन प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए। किसानको मागका आधारमा कार्यालयले प्रत्येक वर्ष डालेघाँसका बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना बनाएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २१ २०८१११:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend