सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मौरी विकास पकेट क्षेत्रमा अनुदानमा लिचीका बिरुवा

बिहीबार , असार २० २०८१
मौरी विकास पकेट क्षेत्रमा अनुदानमा लिचीका बिरुवा

नगरको कृषि विकास शाखाले चालु आवको वार्षिक स्वीकृत बर्खे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत लिचीका बिरुवा वितरण गरेको हो।

कञ्चनपुर- मौरी विकास पकेट क्षेत्रका किसानलाई विशेष प्राथमिकतामा राखेर जिल्लाको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिडलेस लिचीका दुई हजार चार सय बिरुवा वितरणको गरेको छ।

नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत बर्खे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत लिचीका बिरुवा वितरण गरेको हो।

बजारमा लिचीका प्रतिबिरुवाको मूल्य दुईसय रूपैयाँभन्दा बढी रहेकामा ७५ रूपैयाँमा बिरुवा खरिद गरी किसानलाई सोको आधा मूल्यमा उपलब्ध गराइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले जानकारी दिए।

'बिरुवा वितरणका लागि पहिलो प्राथमिकतामा कृष्णपुर-१ दोमिल्ला, कुमगडा, वडा नं २ को खल्लागोठ, वडा नं ४ को किंचाई, बैलकुण्डी र मालुवेलाका मौरीपालनमा लागेका किसानलाई राखेका छौँ', उनले भने, 'त्यसपछि अन्य फलफूलखेती गर्न इच्छुक किसानलाई उपलब्ध गराएका छौँ।'

लिचीका फूलबाट मौरीले राम्रो मह संकलन गर्ने भएकाले मौरी पकेट क्षेत्रका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलो प्राथमिकतामा राखी बिरुवा वितरण गरिएको शाखा प्रमुख धामीले बताए। मौरी पकेट क्षेत्र बाहिरका फलफूलखेती गर्ने किसानलाई माग र आवश्यकताका आधारमा बिरुवा उपलब्ध गराइएको उनको भनाइ छ।

'एक लाखरूपैयाँ बजेटमा शाखाले लिचीका बिरुवा खरिद गरेको हो। खरिद गरिएका बिरुवा पचास प्रतिशत अनुदानमा दुईवटाका दरले एक हजार दुई सय किसानलाई वितरण गरिएको छ', शाखा प्रमुख धामीले भने।

उनका अनुसार बाह्य क्षेत्रबाट आयात हुने फलफूललाई विस्थापन गरी स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष किसानलाई फलफूलका बिरुवा वितरण गर्दै आएको छ। रासस


प्रकाशित : बिहीबार , असार २० २०८११३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend