शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मा‌ओवादी महाधिवेशनमा फरक मत : नेताको सम्पत्ति छानबिन गरेर कारबाही गरौँ, एमसीसीबारे स्पष्ट धारणा बनाऔँ

बिहीबार , पुस १५ २०७८
मा‌ओवादी महाधिवेशनमा फरक मत : नेताको सम्पत्ति छानबिन गरेर कारबाही गरौँ, एमसीसीबारे स्पष्ट धारणा बनाऔँ

अध्यक्ष प्रचण्डले एमसीसीका सम्बन्धमा सार्वजनिक रुपमा फरक फरक विचार राखिरहँदा नेता न्यौपानेले एमसीसीबारे आफूहरूको धारणा एकै हुनुपर्ने बताएका हुन्। 

काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवशेनको बन्दसत्रमा केही नेताले सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाएका छन्। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको वैचारिक राजनीतिक दस्तावेजमाथि फरक मत राख्दै नेता लेखनाथ न्यौपानेले विशेष गरी नेताहरूको सम्पत्ति छानबीन गर्नुपर्ने र कानूनविपरित सम्पत्ति आर्जन गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।

शान्ति प्रक्रियामा आएपछि तीन पटक पार्टीले सरकारको नेतृत्व गरेको, पटकपटक पार्टी सरकारमा सहभागी भएको, एउटै पात्र पटकौँ मन्त्री बनेको भए पनि जनताले अनुभूत हुनेगरी गुणात्मक काम हुन नसकेको भन्दै नेता न्यौपानेले पार्टीका तर्फबाट सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र कारबाही गर्ने आँट गर्न माग गरे। उनले पटक पटक सरकारमा गएका नेता र तिनका पिएको समेत सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन्।

उनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रति पार्टीले स्पष्ट विचार बनाउनुपर्ने मागसमेत राखेका छन्। 'विचार स्पष्ट नहुँदा समाजवादी आन्दोलन नेतृत्व गर्ने हाम्रो धरातल बन्दैन' उनले भने।

अध्यक्ष प्रचण्डले एमसीसीका सम्बन्धमा सार्वजनिक रुपमा फरक फरक विचार राखिरहँदा नेता न्यौपानेले एमसीसीबारे आफूहरूको धारणा एकै हुनुपर्ने बताएका हुन्। 

एमसीसीबारे एकै छैन प्रचण्डको बोली

यस्तै प्रतिवेदनमाथिको समूहगत छलफलमा नेता न्यौपानेले दस्तावेज अपूर्ण रहेको भन्दै १० बुँदे फरकमत राखे। नेता न्यौपानले राजनीतिक दस्तावेजले विचार, दृष्टिकोण र दिशा समात्न नसकेको, नेपाली समाजको अन्तरविरोध, वर्ग सम्बन्ध र सङ्घर्ष, उत्पादन प्रणाली, उत्पादनको साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे ठोस विश्लेषण गर्न नसकेको टिप्पणी गरे।

पार्टीमा कार्यशैलीगत समस्या देखिएको, नैतिकताको र आचरणको अभाव, सामन्ती र बुर्जुवा चिन्तन पद्धति हाबी रहेको भन्दै उनले पार्टी तीव्ररुपमा दक्षिणपन्थी दिशामा अगाडि बढिरहेकाले त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने फरक मतमा राखे।


प्रकाशित : बिहीबार , पुस १५ २०७८११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend