सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

फौजी कीराले मकैबाली नष्ट गर्दा किसान चिन्तित

बिहीबार , असार २० २०८१
फौजी कीराले मकैबाली नष्ट गर्दा किसान चिन्तित

बैतडी- अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुर्‍याएको हो।

कीराले मकैको  बोट सखाप पारेको दोगडाकेदार-५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिए। उनले भने, 'कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ। कीराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछि समस्या भएको छ। कीरा नियन्त्रणका लागि विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ।'

विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी कीराको जोखिम देखिएको भन्ने गुनासो आएपछि अनुगमन र विषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताए। उनले भने, 'किसानले फौजी कीराले मकैबालीलाई नष्ट गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौँ।'

समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी कीरा बढी सक्रिय हुने गरेको छ। मकैको पकेट क्षेत्रमै कीराले मकैबाली नोक्सान गरेको हो। दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि कीराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ।

पालिकाका विभिन्न वडामा अमेरिकन फौजी कीराको जोखिम देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताए। रिम, कालागाउँलगायतका किसानले फोन गरेर फौजी कीराको जोखिम देखिएको जानकारी गराएका छन्। उनले भने, 'मकैमा फौजी कीराको आक्रमणबारे जानकारी पाएपछि वडास्तरबाटै कृषि प्राविधिक पठाएर अनुगमन कार्य गरी विषादीको व्यवस्था गरेको छौँ।' फौजी कीरा रातको समयमा बढी सक्रिय हुने गरेकाले जोखिम देखिएको ठाउँमा विषादीको प्रयोग गर्न आवश्यक रहेको  शाखा अधिकृत भट्टको भनाइ छ।

गएको चार वर्षयता हरेक वर्ष फौजी कीराको जोखिम देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए। उनले भने, 'मकैमा फौजी कीराको जोखिम प्रत्येक याममा देखा पर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा उत्पन्नको तहबाटै मकैको बोट खान थाल्छ। नियन्त्रणका लागि मुस्किल हुने गरेको छ।'

पालिकाको कृषि शाखाको समन्यमा किसानलाई ज्ञानकेन्द्रले विषादी वितरण गर्ने गरेको छ। इमामेक्टिन वेन्जोएट, अल्टाकोर नामक विषादी वितरण गर्ने र एक किसानले मात्रै विषादी प्रयोग गरेर नहुने भएकाले जोखिम देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै कीराको जोखिम नियन्त्रण हुने जनाइएको छ। माटोको उपचार गरेर पनि फौजी कीराको जोखिम हटाउन सकिने प्रमुख चौधरीको भनाइ छ। फौजी कीराको जोखिम देखा परेकाले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ।

बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको भए पनि जंगली जनावर, विभिन्न रोगकीरा, बसाइँसराइका कारण हाल पाँच हजार चार सय हेक्टर क्षेत्रफल जमिनमा मात्रै मकैखेती गरिएको केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार २० २०८११०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend