सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १९ २०८१
फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

बैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा किसान थिए। अहिले उनीहरु निरास बनेका छन्।

धादिङ- खनियावास गाउँपालिका-१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्।  

बैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा किसान थिए। अहिले उनीहरु निरास बनेका छन्।

'बैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो। अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पार्दैछ', झार्लाङका स्थानीय नासुन तामाङले भने, 'महामारीको चक्रमा त फस्यौँ नै। बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन।'

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायतका करिब एक सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो।

'दिनदिनै कीराको प्रकोप बढेको छ। औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा आएको छैन। चिमोट्दै मार्दै गरेका छौँ। तर प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौँ', तामाङले भने।

आसपासका सबै किसानले एकै चोटी विषादी हाले मात्रै फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारी बताउँछिन्।

'फौजी कीरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ', तिवारीले भनिन्, 'केही दिन अगाडि किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौँ। थोरै मात्रै क्षति पुर्‍याएको थियो, सखापै पारेको भए सबै किसानलाई विषादी प्रयोग गर्न लगाउँछौँ।' रासस


प्रकाशित : बुधबार, असार १९ २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend