सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सन्धिखर्कमा किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण

सोमबार, असार १७ २०८१
सन्धिखर्कमा किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण

किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो।

अर्घाखाँची- जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ। किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो।

नगरपालिकाको ४० प्रतिशत अनुदान र किसानको ६० प्रतिशत लगानीमा किसानको मागका आधारमा लिची एक हजार दुई सय ५०, कागती एक हजार तीन सय ८०, मौसमी पाँच सय ५०, सुन्तला एक हजार सात सय ३० र ड्रागन फ्रुट एक सय २० बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए।

फलफूल खेतीबाट किसानलाई व्यावसायिक, आत्मनिर्भर बनाउँदै आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले फलफूलका बिरुवा वितरण सुरु गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। किसानलाई बिरुवा वितरण गर्दै उनले कृषि पेसामा लागेर स्वरोजगार बनेका उत्कृष्ट किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको जानकारी दिए।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले निर्वाहमुखी कृषि पेसालाई व्यावसायिक बनाउनुपर्ने बताउँदै व्यावसायिक किसानलाई नगरले सहयोग गरिरहेको जानकारी दिइन्। पालिकाले बिरुवा लगाउने, संरक्षण गर्नेलगायत विषयमा विज्ञमार्फत परामर्श पनि उपलब्ध गराइएको बताइन्।

बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत खनाल, लेखा अधिकृत नवराज गौतम, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईलगायतको उपस्थिति थियो। रासस


प्रकाशित : सोमबार, असार १७ २०८११६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend