आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

आइतबार, असार १६ २०८१
नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

१ सय २३ किलोवाट आवर ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलोपटक ल्याउन लागिएको कम्पनीको दाबी छ।

काठमाडौं- शशिला मोटर्स प्रालिले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय बस नेपाल भित्र्याउने भएको छ।

हाल नेपाली बजारमा १९ सिटसम्मका विद्युतीय बस उपलब्ध रहेकोमा अब भने त्योभन्दा बढी सिट क्षमताका विद्युतीय बस आउने भएका हुन्। हालै शशिला मोटर्स र भान्चे ब्रान्डबीच नेपालमा उक्त ब्रान्डले उत्पादन गरेको विद्युतीय बस आधिकारिक रुपमा भित्र्याउने सम्झौता भएको हो।

सम्झौता भएर बस ल्याउने प्रक्रिया सुरु भएसँगै शशिला मोटर्सले उक्त बसको बुकिङसमेत खुलाएको छ। 

एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ। विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको १ सय २३ किलोवाट आवरको लिथियम आइरन फोसफेट ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सुरक्षा विशेषता उपलब्ध हुनेछ। 

यो विद्युतीय बसको लम्बाई २५ फिट हुनेछ। फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन्। 

१ सय २३ किलोवाट आवर ब्याट्री  क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ। उनले बस आइपुग्नुभन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस सञ्चालकलाई बिना झन्झट सेवा दिने बताए। 

दशैँलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ। औपचारिकरुपमा बसको मूल्य निर्धारण हुन बाँकी नै रहेको छ। तर शशिला मोटर्सले अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले उक्त बस ८९ लाख ९० हजार रुपैयाँमै पाउने छन्। 

तर त्यसपछि उक्त बसको मूल्य केही बढ्ने कम्पनीले जनाएको छ। विगत दश वर्षदेखि ब्यवसायिक गाडीहरु बिक्री गर्दै आएको शशिला मोटर्सले पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेको छ। 

अब शशिला मोटर्स नेपालको लागि भान्चे ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ। नेपाल आउन लागेका भान्चेका विद्युतीय बस स्प्रिन्टर डिजाइनमा आधारित रहेको छ। भान्चे स्प्रिन्टर डिजाइनमा बस बनाउने चीनकै अग्रणी कम्पनी भएको दाबी शशिला मोटर्सले गरेको छ। 


प्रकाशित : आइतबार, असार १६ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend