सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

किसानलाई दूधमा आत्मनिर्भर बनाउन पौवादुङमाले दुईसय उन्नत जातका गाई वितरण गर्ने

सोमबार, असार १० २०८१
किसानलाई दूधमा आत्मनिर्भर बनाउन पौवादुङमाले दुईसय उन्नत जातका गाई वितरण गर्ने

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ३६ करोड ९२ लाख ४१ हजार रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

भोजपुर- पौवादुङमा गाउँपालिकाले किसानलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले दुईसय उन्नत जातका गाईका बाच्छी वितरण गर्ने भएको छ। गाउँपालिकाले १५औँ गाउँसभामा आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको हो।

आगामी आर्थिक वर्षमा पालिकाले किसानसँगको सहकार्यमा ५० प्रतिशत अनुदानमा उन्नत जातको गाईका बाच्छी वितरण गर्ने योजना सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। उनका अनुसार यो कार्यक्रम सञ्चलानको लागि पालिकाले ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

पशुपालनबाट किसानलाई आयआर्जनमा जोड्न पशु शाखाबाट घाँसखेती कार्यक्रम ल्याइएको छ। 'दुग्ध मिसन कार्यक्रमअन्तर्गत हामीले उन्नत जातका गाई वितरण कार्यक्रमलाई जोड दिएका छौँ', प्रशासकीय अधिकृत भट्टराईले भने, 'यो कार्यक्रममा किसानसँगको लागत साझेदारीमा दुईसय गाईका बाच्छी वितरण गर्ने लक्ष्य छ।'

कार्यक्रम वडा नं १ श्यामशिला, वडा नं २ तिवारी भञ्याङ र वडा नं ३ च्याङ्गेमा सञ्चालन गरिने भनाइ छ। त्यस्तै वडा नं ४ मा अकबरे खुर्सानी र वडा नं ५ र ६ मा व्यावसायिक बाख्रापालनलाई जोड दिइएको उनको भनाइ छ।

गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गर्न नीति तथा कार्यक्रम र बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। 'पालिकाले दूग्धजन्य उत्पादनमा जोड दिएको छ', उनले भने, 'यसअघि किसानलाई उन्नत जातका भैँसी दिएका थियौँ। यो कार्यक्रम सफल भएको छ। यसपटक गाई वितरणको कार्यक्रम अघि सारेका छौँ ।' उत्पादित दूधको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने उनको भनाइ छ।

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले जानकारी दिए। भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भइरहेको उनको भनाइ छ।

'यहाँ धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भूगोल छन्', उनले भने, 'बाँझो जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्नेलाई प्रोत्साहनको नीति लिएका छौँ।'

कृषिमा बहुवर्षीय बालीमा (एभोकाडो, किबी, चिउरी) लगायत खेतीलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष ज्योत्सना राईले बताइन्। व्यावसायिक तरकारी, अकबरे खुर्सानी खेतीका साथै किसानसँगको लागत साझेदारीमा फलफूल बगैँचा विकास तथा ‘एक घर एक करेसाबारी’ कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उनको भनाइ छ।

महिला विकास बोर्डमार्फत ‘उपाध्यक्ष आत्मनिर्भर’ कार्यक्रमबाट महिला लक्षित कार्यक्रम ल्याइएको उनको भनाइ छ। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ३६ करोड ९२ लाख ४१ हजार रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। रासस


प्रकाशित : सोमबार, असार १० २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend