शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विद्युतीय कार बजारमा टेस्लाको विस्तार २०२२ मा अझै बढ्ने, भारतमा पनि आउँदै

बिहीबार , पुस १५ २०७८
विद्युतीय कार बजारमा टेस्लाको विस्तार २०२२ मा अझै बढ्ने, भारतमा पनि आउँदै

काठमाडौं- विद्युतीय कारको विश्व बजारमा बलियो उपस्थिति बनाएको टेस्ला अन्य उत्पादकको तुलनामा थप बलियो हुने भएको छ। अमेरिकापछि चीन हुँदै टेस्लाले जर्मनीमा समेत गिगा फ्याक्ट्री स्थापना गरिरहेको छ। जर्मनीको प्लान्ट कार उत्पादनका लागि तयार भइसके पनि अन्तिम स्वीकृतिको पर्खाइमा छ। 

टेस्ला भारतमा आउन तीब्र लबिङ गरिरहेको छ। भारतमा कार बिक्री गर्नका लागि उसले कर छुटको प्रस्तावसमेत राखेको छ। जसको सुनुवाई अन्तिम चरणमा रहेको छ। 

टेस्लाले राखेको कर छुटको प्रस्ताव भारत सरकारले सर्तसहित स्वीकृत गर्ने तयारी गरिरहेको भारतको नीति आयोजना केही समयअघि बताएको थियो। भारतले टेस्लाको कार आयातमा केही कर छुट दिने तर टेस्लाले निश्चित समयभित्र भारतमा प्लान्ट स्थापना गर्नुपर्ने सर्त राख्ने तयारी गरेको छ। 

कारको सबैभन्दा ठूलो बजार चीन हो भने विद्युतीय कारको पनि चीन नै हुने संकेत देखिएको छ। चीनमा करिब ३ सय कम्पनी विद्युतीय सवारी उत्पादकका रुपमा दर्ता भएका छन् भने धेरै कम्पनीहरूले उत्पादन नै गरिरहेका छन्। यो अवस्थामा चीनमा समेत टेस्लाकै कार धेरै बिक्री हुने अनुमान गरिएको छ। 

ब्लुम्बर्गले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०२२ को अन्त्यसम्ममा चीनमा बिक्री हुने कुल विद्युतीय कारमध्ये ४० प्रतिशत टेस्लाको हुनेछ। सोही वर्षको अन्त्यसम्ममै टेस्लाले वार्षिक २० लाख कार उत्पादन गर्नेछ। 

टेस्लाले करिब २ वर्षअघि नै चीनको सांघाईमा गिगा फ्याक्ट्री स्थापना गरेको थियो। उक्त प्लान्टबाट हाल चीनका साथै युरोपेली बजारमा टेस्लाले कार निर्यात गर्दै आएको छ। युरोपेली बजारलाई लक्षित गरेर टेस्लाले जर्मनीमा समेत प्लान्ट स्थापना गरिसकेको छ। 

टेस्लाले बजार विस्तारलाई तीब्रता दिएपछि चीनको नियामक निकायले केही समयअघि कार रेकडिङ राखेर संवेदनशील डाटा विदेश पठाएको आरोप लगाएको थियो। तर टेस्लाका सीईओ एलन मस्कले उक्त कुरा अस्वीकार गरेका थिए।

विश्व बजारमा शून्य प्रदूषण सवारीको माग बढ्दै गइरहेको छ। नेपालमा समेत विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको छ। विभिन्न कम्पनीका दर्जन बढी विद्युतीय सवारी बजारमा उपलब्ध छन्। त्यस्तै अमेरिकी कार उत्पादक टेस्लाका कारसमेत नेपाली बजारमा उपलब्ध रहेका छन्। 

गत वर्षदेखि नै टेस्लाका मोडल एक्स, मोडल थ्री र मोडल एस विद्युतीय कार नेपालमा उपलब्ध हुँदै आएको छ। टेस्लाका कार भारतभन्दा पहिले नै नेपाली बजारमा आएर गुडिरहेका छन्। 


प्रकाशित : बिहीबार , पुस १५ २०७८०८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend