सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

वर्षा नहुँदा जुम्लाका किसानले लगाउन पाएनन् खेती, पानी अभावले रोपाइँमा समस्या

बिहीबार , असार ६ २०८१
वर्षा नहुँदा जुम्लाका किसानले लगाउन पाएनन् खेती, पानी अभावले रोपाइँमा समस्या

अकाशे पानीको भरमा परेका किसानका लागि यस वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन्।

जुम्ला- वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ। यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो।

समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकेको तिला गाउँपालिका- १ का स्थानीय किशोर रावतले जानकारी दिए। 'पानी परेको छैन, खेतबारी सुक्खा छन्, सिँचाइको कुनै सुविधा छैन, यस वर्ष असार लागे पनि खेतीपाती लगाइएको छैन, गाउँमा खाद्यान्न संकट आउने अवस्थाको परिस्थिति रहेको छ', उनले भने।

गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यस वर्ष वर्षा नहुँदा खाद्यबालीमा निकै ह्रास आउने तिला गाउँपालिकाका बासिन्दा बताउँछन्। असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका अन्यबाली नपसाउँदै सुक्न थालेका छन्। विषेशगरी जिल्लाका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवालाई खडेरीले निकै क्षति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए।

हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौँलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका-४ का किसान रतन रोकायाको भनाइ छ। जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन। वर्षा नभएको खण्डमा यस वर्ष जिल्लामा खाद्यान्न बालीदेखि स्याउ उत्पादनमा धैरे कमी आउने कृषि विकास कार्यालयले जनाएको छ।

जिल्लामा अहिलेसम्म १६ हजार घरधुरी स्याउखेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ। जुम्ली किसानको मुख्य आयस्रोत नै स्याउखेती हो। पछिल्लो समयमा स्याउ बीमाको महत्त्वबारे जानकार भएपछि जिल्लाका आठ वटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको शिखर इन्सोरेन्स कम्पनीको जिल्ला शाखाले जनाएको छ। 

पानी अभावले रोपाइँमा समस्या 

असार महिना विशेषगरी धान रोप्ने समय हो। जेठको अन्तिम सातासम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो। यस वर्ष पानी नपर्दा यहाँको हिमा र तिलाका किसानले रोपाइँ गर्न पाएका छैनन्।

पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा-४ का स्थानीय माया रोकायाले जानकारी दिइन्।

सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ। अकाशे पानीको भरमा परेका किसानका लागि यस वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन्। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend