सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

रहरले थालेको बाख्रापालन फार्म बन्यो बीउको स्रोत केन्द्र, वार्षिक १७ लाखको बोयर बिक्री गर्छन् श्रीष (भिडियोसहित)

बुधबार, असार ५ २०८१
रहरले थालेको बाख्रापालन फार्म बन्यो बीउको स्रोत केन्द्र, वार्षिक १७ लाखको बोयर बिक्री गर्छन् श्रीष (भिडियोसहित)

राज्यले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदानलगायतमा धेरथोर सहयोग गरे पनि पछिल्लो समय कृषि सहुलियत ऋण पाउन मुस्किल पर्ने र बीमाबापतको रकम भुक्तानीमा ढिलासुस्ती हुँदा आफूहरु समस्यामा परेको किसान श्रीषले गुनासो गरे।

म्याग्दी- बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाएका छन्।

१३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई छाडेर मारेर उनले स्थानीय जातका बाख्रापालन सुरु गरेका थिए। जीविकोपार्जन र स्वरोजगार बन्ने उद्देश्यले सानो लगानीमा सुरु गरेको बाख्रापालनलाई व्यावसायिक बनाएका उनले अहिले उन्नत जातका बोयर बाख्राको स्रोत केन्द्र स्थापना गरेका छन्।

व्यावसायी श्रीषले सञ्चालन गरेको श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा विगत पाँच वर्षदेखि शुद्ध बोयर जातका बाख्रापालन हुँदै आएको छ। उनले बोयर बाख्रा भने ९ वर्षदेखि पालन गर्न सुरु गरेका थिए। उनीद्वारा सञ्चालित फार्मलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले बाह्य स्रोत केन्द्रको रुपमा समावेश गरेको छ।

लामो समयसम्म मासु उपभोगका लागि बाख्रापालन गरेको र पछिल्लो समय फार्मलाई बीउका लागि शुद्ध बोयर बाख्रा उत्पादन केन्द्रको रुपमा विकास गरेको फार्मका सञ्चालक श्रीषले बताए। श्रीषको फार्ममा अहिले ४५ वटा शुद्ध बोयर बाख्रा छन्।

फार्ममा तीन वटा ब्याडे बोका छन्। फार्ममा रहेका २० वटा माउ बाख्राले पाठापाठी जन्माउँछन्। फार्मबाट वार्षिकरुपमा ५० वटा शुद्ध बोयर बाख्रा र बोका बीउको लागि बिक्री हुँदै आएको श्रीषले बताए।

'यहाँबाट देशका विभिन्न ५५ जिल्लामा बीउको रुपमा बाख्रा लगिएको छ, वार्षिकरुपमा १७ लाख बराबरको बोयर बाख्रा बिक्री गर्दै आएको छु' श्रीषले भने। व्यवस्थित र व्यावसायिक रुपमा स्थापित यो बाख्रा फार्ममा देशका विभिन्न ठाउँबाट नयाँ किसान अध्ययन अवलोकनका लागि समेत आउने गर्छन्। बाख्रापालनको लागि श्रीषले ६० रोपनी जग्गामा घाँसका बिरुवा रोपेका छन्।

केही वर्ष अघिसम्म वार्षिकरुपमा एक करोड बढीको बोयर बिक्री गरेका श्रीषले पछिल्लो समय स्वदेशमा युवाहरुको अभाव र विदेश पलायन हुने क्रमले बाख्रापालनतर्फ आकर्षण घटेको कारण आफूले फार्ममा बोयर बाख्राको सङ्ख्या बढाउन समस्या भएको बताए। ' बाख्रापालनमा लगानी, मेहनत, परिश्रम र आम्दानी सबैको चाँजो मिल्नुपर्छ, मैले बाख्रापालनबाटै घरखर्च धानेको छु, बाख्रापालनबाट म सन्तुष्ट नै छु', श्रीषले भने।

श्रीषले बाख्रा फार्ममा खोर बनाउन मात्रै ५० लाख रूपैयाँभन्दा बढी लगानी गरेका छन्। आफूले बाख्रापालन गरेपछि धेरै जना यो पेसामा जोडिन आउने र जाने क्रम भए पनि आफू भने आफ्नै घरमा आफ्नै पौरखमा रमाउन बाख्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाएर बसेको उनको भनाइ छ।

राज्यले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदानलगायतमा धेरथोर सहयोग गरे पनि पछिल्लो समय कृषि सहुलियत ऋण पाउन मुस्किल पर्ने र बीमाबापतको रकम भुक्तानीमा ढिलासुस्ती हुँदा आफूहरु समस्यामा परेको किसान श्रीषले गुनासो गरे। रासस


प्रकाशित : बुधबार, असार ५ २०८११३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend