सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

दुबईको जागिर छाडेर नेपालमा घाँसखेती गर्दैछन् गोपाल, हुँदै छ राम्रो आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ४ २०८१
दुबईको जागिर छाडेर नेपालमा घाँसखेती गर्दैछन् गोपाल, हुँदै छ राम्रो आम्दानी

प्रतिबिरुवा दुईदेखि ५० रुपैयाँसम्मका बिरुवा उनीसँग छ। अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उनीसँग ४० लाख रुपैयाँ बराबरका घाँसका बिरुवा रहेको छ।

गुल्मी- गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ। ३९ वर्षीय उनी बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्छन्।

'अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु। २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु।  जग्गामा किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेको छु' उनले भने।

रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ। अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन्। यसका कारण गाईभैँसीलाई दान कम दिएर पनि दूध बढी उत्पादन हुने गर्दछ। 

गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गरेका उनले हालसम्म १० लाख ५० हजार रुपैयाँभन्दा बढीको बिरुवा बिक्री गरेका छन्। उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ।

अधिकांश बिरुवा उनले अनलाइन मागका आधारमा पठाउने गरेका छन्। प्रतिबिरुवा दुईदेखि ५० रुपैयाँसम्मका बिरुवा उनीसँग छ। अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उनीसँग ४० लाख रुपैयाँ बराबरका घाँसका बिरुवा रहेको छ। उनले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गरेका छन्। 

'मासिक ८२ हजारको जागिर छाडेर आएँ'

खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गरे। उनले भने 'दुबईमा मेरो मासिक ८२ हजार रुपैयाँ आम्दानी हुन्थ्यो। प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थेँ। त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो।' 

सात लाख रुपैयाँबाट सुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै ४० लाख रुपैयाँको भएको छ। अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पालेका छन्। साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गरेका छन्।

अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताए। 'घाँसलाई मल चाहिन्छ, त्यो बाख्रा, गाईभैँसीबाट प्राप्त हुन्छ', उनले भने 'गाईबाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ।' 

व्यवसायका लागि उनले श्रीमतीका साथ पाइरहेका छन्। 'विदेशको पैसाभन्दा यहाँको दुःख धेरै प्यारो छ', खत्रीले भने, 'अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ।' उनले अन्य युवाहरूलाई स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न सुझाव दिए।

घाँखखेती गर्नका लागि उनले कतैबाट पनि अनुदान लिएका छैनन्। 'अनुदानले मानिसलाई परनिर्भर गराउँछ', उनी भन्छन्, ' सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो।'

जग्गाको भाडामात्र वार्षिक एक लाख रुपैयाँ बुझाउने उनले प्रत्येक वर्ष एक हजार पाँच सयले रोजगार पाएको बताए। मदाने-३ का वडाध्यक्ष चेतबहादुर सेनले आफूहरू खत्रीकोजस्तै व्यावसायिक किसानलाई प्रोत्साहन गर्न लागिपरेको बताए। रासस


प्रकाशित : मंगलबार, असार ४ २०८११०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend