सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

दूधमात्र होइन घाँस बेचेर पनि राम्रो आम्दानी गर्दै छन् बागलुङका किसान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २ २०८१
दूधमात्र होइन घाँस बेचेर पनि राम्रो आम्दानी गर्दै छन् बागलुङका किसान

'एक सय २५ सेयर सदस्यमध्ये एक सय २० जनाले नियमित रूपमा दूध संकलन गर्दै आएका छन्, घाँसमा आधारित पशुपालनका कारण यहाँका किसानले दूधको उत्पादन लागत घटाएर नाफा बढाएका छन्।'

बागलुङ- जिल्लाको जैमिनी नगरपालिका-१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन्। 

विसं २०५५ मा १६ लिटर दूध संकलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका-१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ।  

बसाइँसराइले उजाड बन्दै गएको टाकुरीगाउँ र जैमिनी नगरपालिका-१ को टुनिबोटलगायत क्षेत्रका एक सय २० किसानले सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका उनीहरू घाँस पनि बेच्न थालेका छन्। 

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उक्त गाउँलाई घाँसको स्रोत केन्द्रका रूपमा विकास गरेको छ। सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएको सहकारीले अहिले बागलुङ बजार र पोखरामा दूध बेच्दै आएको छ। 

कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद लामिछानेले दूधको संकलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले टाकुरीमा आफ्नै भवनमा सञ्चालित सहकारीका चारवटा संकलन केन्द्र रहेका बताए।

उनले सहकारीमा आबद्ध किसानलाई घाँसखेतीका निम्ति अभिप्रेरित गरेको जानकारी दिए। उनले भने, 'एक सय २५ सेयर सदस्यमध्ये एक सय २० जनाले नियमित रूपमा दूध संकलन गर्दै आएका छन्, घाँसमा आधारित पशुपालनका कारण यहाँका किसानले दूधको उत्पादन लागत घटाएर नाफा बढाएका छन्।'

सहकारीमार्फत किसानले वार्षिक रूपमा दूधमा अनुदानमात्रै पाँच लाख बुझ्दै आएका छन्। चालु आवमा सहकारीमार्फत एक लाख ८२ हजार लिटर दूध बिक्री भइसकेको छ भने किसानले दूधमार्फत एक करोड १८ लाख ३० हजारभन्दा बढी र भित्र्याएका छन्।

सहकारीले किसानको दूध संकलन गरी थोरै मुनाफा राखेर बजारीकरण गर्दै आएको छ। सहकारीले प्रतिलिटर ६५ रुपैयाँमा संकलन गरेर ७५ रुपैयाँमा बेच्दै आएको छ। बागलुङ बजारमा प्रतिलिटर दूधको मूल्य एक सय २० रुपैयाँ कायम भएको छ। ढुवानी र प्रशोधन खर्च जोडेर सहकारीले दूध बेच्ने गरेको छ। 

बाँदर आतङ्कबाट पीडित यहाँका किसानले अन्नबाली लगाउन छाडेर घाँस लगाउन थालेपछि घाँस पजि बेच्न थालेका टुनिबोटका किसान रुद्रनाथ शर्माले बताए। उनले १० रोपनी जग्गामा बहुवर्षे उन्नत जातको घाँस लगाएको बताए।

'सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका किसानले यस वर्ष ४० क्विन्टल घाँस बेचेका छन्। हाल भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिरोपनी घाँसमा तीन हजरका दरले अनुदान दिँदै आएको छ भने दूधमा प्रतिलिटर  दुई रुपैया ५० पैसा अनुदान दिँदै आएको छ', दुग्ध किसान शर्माले भने। 

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अहिले दूधमा उत्पादनका आधारमा अनुदान र घाँसखेती गर्ने किसानलाई क्षेत्रफलका आधारमा अनुदान दिएकाले किसान उत्साहित भएका केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए।

दूधमा अनुदान पाउन संस्थागत अथवा व्यक्तिगत दैनिक दुई सय लिटरभन्दा बढी दूध उत्पादन हुनुपर्ने नियम बनाइएको उनले जानकारी दिए। टुनीबोट, तल्लो टुनिबोट, टाकुरी र कुश्मिसेरालगायत स्थानबाट किसानले दूध सहकारीमार्फत दूध बेच्दै आएका छन्। रासस 


प्रकाशित : आइतबार, असार २ २०८११०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend