सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

किसानलाई प्रोत्साहित गर्न लहानको आँप ‘ब्राण्डिङ’, ५० मेट्रिकटन बिक्री गर्ने लक्ष्य

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २ २०८१
किसानलाई प्रोत्साहित गर्न लहानको आँप ‘ब्राण्डिङ’, ५० मेट्रिकटन बिक्री गर्ने लक्ष्य

लहानको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादिरहित शुद्ध आँप उपभोग गर्न पाउन् भनी नगरले निजी क्षेत्रसँग समन्वय गरी आँपको ब्राण्डिङ थालिएको हो।

सिरहा- स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ। आँपको राजधानी मानिएको लहानबाट औपचारिकरूपमा आँपको संकलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण कार्यक्रम सुरु भएको छ।

गत वर्ष ३० मेट्रिक टन आँप ब्राण्डिङ गरी काठमाडौंलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको लहान नगरपालिकाले यस वर्ष ५० मेट्रिक टन बिक्री गर्ने लक्ष्यसहित लहानको आँप ‘ब्राण्डिङ’ कार्यलाई निरन्तरता दिएको नगरपालिकाका कृषि शाखाका संयोजक एवं वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले बताए। 

यहाँको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादिरहित शुद्ध आँप उपभोग गर्न पाउन् भनी नगरले निजी क्षेत्रसँग समन्वय गरी आँपको ब्राण्डिङ थालेको उनले जानकारी दिए। 

'गत वर्षभन्दा यस वर्ष व्यवस्थित रूपमा यहाँको उत्पादित आँपको ब्राण्डिङ गरी बजारीकरण गर्ने योजनाअनुसार आजदेखि काम सुरु गरेका छौँ। यहाँको सरस्वती कृषि फार्मसँग सम्झौता गरी आँपमा लोगो लगाएर काठमाडौँ पठाउने तायारी गरिएको छ', संयोजक चौधरीले भने, 'किसानले असार सुरु भएसँगै मालदह आँप बजारमा ल्याउन थाल्ने भएकाले संकलन गरी पठाउन सम्पूर्ण तयारी गरिएको छ।'

नगरपालिकाले आँपको जातीय शुद्धता र गुणस्तरीयतासहित काठमाडौँको शान्तिनगरमा ‘लहानको आँप’ बिक्री कक्ष सञ्चालन गर्ने भएको छ। राष्ट्रव्यापी अनलाइन माग तथा ‘होम डेलिभरी’का लागि ओयो पसललाई आधिकारिक ‘अनलाइन पार्टनर’ नियुक्त गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले जानकारी दिए। 

उनका अनुसार यहाँ उत्पादित आँपको ब्राण्डिङ, प्याकेजिङ, डेलिभरी, ढुवानी, बिक्रीकक्ष तथा अन्य आवश्यक सामग्रीमा ५० प्रतिशत अनुदान दिई निरन्तर अनुगमन र मूल्यांकनसमेत गरिनेछ।

स्थानीय आँपको ब्राण्डिङसँगै नगरपालिकाले राख्ने दरभाउमा यहाँका किसानले राम्रो मूल्य पाउने भएपछि आँप खरिद बिक्रीमा बिचौलिया वर्गले लाभ उठाउने परिपाटीको अन्त्य गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। 

उनले भने, 'यहाँका किसानलाई उत्साहित बनाउन नगरपालिकाले आँपको ब्राण्डिङ गरेको हो। यसले यहाँ उत्पादित आँपको पहिचान बनाउने छ। योसँगै उपभोक्ताले विषादीरहित नेपाली आँप बजारमा पाउनेछन्।'

नगरप्रमुख चौधरीले आँपलाई लामो समयसम्म भण्डारण गरिराख्न चिस्यान केन्द्र आवश्यक भएको भन्दै त्यसका लागि प्रदेश तथा संघीय सरकारलाई सहयोगका लागि अनुरोधसमेत गरे।

लहानलाई आँपको पकेट क्षेत्रका रूपमा चिनिन्छ। मुख्यगरी यहाँको वडा नं १२, १३, १४, १५, २३, १५, १८, १९ र २४ मा किसानले बीघौबीघा आँपखेती गर्ने गरेका छन्। रासस


प्रकाशित : आइतबार, असार २ २०८१०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend