बुधबार, कात्तिक ७ गते २०८१    
images
images

आइडाको बैठक असार ४ देखि, ७० देशका प्रतिनिधि आउने

images
शुक्रबार, जेठ ३२ २०८१
images
images
आइडाको बैठक असार ४ देखि, ७० देशका प्रतिनिधि आउने

बैठकमा ७० देशका दुई सय भन्दाबढी व्यक्ति सहभागी हुँदैछन् । बैठक व्यवस्थापनका लागि अर्थसचिव मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।

images
images

काठमाडौं-  विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठक आगामी असार पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म काठमाडौँमा आइडा–२१ के बैठक आयोजना हुन लागेको हो। 

images
images
images

अतिकम विकसित मुलुकहरूलाई अनुदान तथा सहुलियत ऋण दिँदै आएको आइडाले आगामी तीन वर्षको वित्तीय स्रोत परिचानको वृहत रणनीति तयार पार्नका लागि यो बैठक बस्दैछ। 

आईडाका दाता देश र लाभग्राही देशहरूका प्रतिनिधिबीचमा हुने छलफलका लागि यस्तो बैठक आयोजना हुन्छ। प्रत्येक तीन वर्षमा आइडाले यस्तो नयाँ रणनीति बनाउँदै आएको छ। आगामी तीन वर्षका लागि ‍सन् २०२४ मा रणनीति तयार पार्दैछ। 

images

यस्तो रणनीति तयार पार्नका लागि विभिन्न चरणका तयारी बैठक हुन्छन् जसमा तेस्रो चरणको बैठक काठमाडौंमा हुँदैछ। अन्तिम तथा प्लेज बैठक भने दक्षिण कोरियामा हुन्छ।

images

बैठकबारे जानकारी दिन आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले आइडा–२१ को बैठकले स्रोत परिचालनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने र नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास व्यक्त गरे। 

यो बैठकले विश्वव्यापी रुपमा आइडाको स्रोत परिचालनका लागि महत्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ। ‘उक्त बैठक नेपालमा आयोजना हुनु भनेको नेपालका लागि सकारात्मक पक्ष हो । यसले नयाँ अवसर सिर्जना गर्नेछ’ उनले भने। 

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जेर्बोसले नेपालको दिगो र समावेशी विकासका लागि आइडाले वित्तीय स्रोत उपलब्ध गराउँदै आएको जानकारी दिए। आइडा परिणाम हासिल गर्न सक्षम, पारदर्शी र जवाफदेही मञ्च रहेको उनको भनाइ छ। 

‘आइडा–२१ बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतको सङ्कलन र नवीकरण गर्न दाताहरु तथा ऋण लिने राष्ट्र एकैठाउँमा बसेर छलफल गरी आगामी रणनीति तयार गर्नेछन्’ उनले भने। 

नेपाललाई अझै पनि सस्तो पुँजी तथा ज्ञानको आवश्यकता रहेको र आइडाले यसमा सहयोग गर्दै आएकाले पनि यो बैठक काठमाडौंमा आयोजना गर्न लागिएको उनको भनाइ छ। 

आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, पूर्वाधारलगायत क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ।  

अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले आइडा नेपालको सबैभन्दा ठूलोमध्येको एक विकास साझेदार संस्था रहेकाले जलवायु वित्तलगायत नेपालको चासो र हितका विषयमा मार्गदिशा तय गर्न यो बैठक महत्वपूर्ण हुने बताए। 

असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्नेछन्। विभिन्न चरणमा हुने बैठकमा सहभागी प्रतिनिधिहरूले स्थलगत अवलोकन पनि गर्नेछन्। आइडाको सहायतामा सञ्चालित विभिन्न आयोजनामा अनुगमन गर्ने कार्यतालिका रहेको छ। 

बैठकमा ७० देशका दुई सय भन्दाबढी व्यक्ति सहभागी हुँदैछन् । बैठक व्यवस्थापनका लागि अर्थसचिव मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडा बैठकमा विश्व बैंकका अध्यक्ष अजय बङ्गालगायत उच्च पदस्थ अधिकारी सहभागी हुँदैछन् । सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमापछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो।


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८११९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend