सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बजारीकरण नहुँदा रेसमखेतीबाट पलायन हुँदै तरकारीखेतीमा जम्दै चितवनका किसान

बिहीबार , जेठ ३१ २०८१
बजारीकरण नहुँदा रेसमखेतीबाट पलायन हुँदै तरकारीखेतीमा जम्दै चितवनका किसान

केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेसमखेती हुनेमा अहिले यहाँका किसान उक्त पेसाबाट विस्थापित भएका हुन्।

चितवन- पछिल्लो समय जिल्लाका किसान तरकारीखेतीतर्फ आकर्षित हुन थालेपछि रेसमखेती विस्थापित हुँदै गएको छ। केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेसमखेती हुनेमा अहिले यहाँका किसान उक्त पेसाबाट विस्थापित भएका हुन्। 

किम्बु नर्सरी विकास केन्द्र भण्डारा चितवनकी कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार माडी क्षेत्रमा पहिला सहकारी र संस्था दर्ता गरेर रेसमखेती गरिने गरिएकामा अहिले किसान यस पेसाबाट पलायन हुँदै तरकारीबालीतर्फ आकर्षित भएका छन्। उनले भनिन्, 'रेसमखेतीका लागि लामो समय लाग्ने र व्यवस्थापन झन्झटिलो हुने भएकाले किसानले पेसा परिवर्तन गरेका हुन्।'

केन्द्रले अहिले व्यावसायिक रुपमा कोया उत्पादन गर्न छोडेको क्षेत्रीले बताइन्। कोया उत्पादन गरेर निजी क्षेत्रलाई दिनुपर्ने तथा बजार समस्या हुँदा व्यावसायिक रुपमा उत्पादन गर्न छोडेको उनको भनाइ छ। सुरुमा मकवानपुर र चितवनमा रेसम खेतीको प्रशस्त उत्पादन भए पनि अहिले उत्पादन घट्दै गएको उनले जानकारी दिइन्।

नेपालमा उत्पादित रेसम धागोको बजारीकरण नहुँदा व्यवसायी पलायन भएका प्रमुख क्षेत्रीले बताइन्। उनले भनिन्, 'बाहिरबाट रेसमको धागो आयात हुन्छ। यहाँको धागोको पहिचान हुँदैन। बजार अभाव हुँदा पेसा नै संकटमा परेको छ।'

बजार व्यवस्थापनमा समस्या हुँदा लामो समयसम्म कुर्नुपर्ने र राम्रो उत्पादन भए पनि बिग्रने हुँदा यसतर्फ किसानको आकर्षण घटेको उनको भनाइ छ। जिल्लामा रेसमखेती गर्ने किसान अहिले छिटो आम्दानी हुने नगदेबालीतर्फ आकर्षित भएका क्षेत्रीले जानकारी दिइन्। उनले भनिन्, 'अहिले केन्द्रमा उत्पादित किम्बूका बिरुवा २० प्रतिशत पनि रेसम खेतीका लागि जान मुस्किल छ।' उgका अनुसार केन्द्रले यसवर्ष पाँच लाख बिरुवा उत्पादन गरेर छ।

अहिले गर्मी बढेकाले चार लाखसम्म बिक्री गर्ने योजनामा केन्द्र रहेको प्रमुख क्षेत्रीले बताइन्। उनका अनुसार करिब छ हेक्टर क्षेत्रफलमा किम्बु नर्सरी उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित किम्बूका बिरुवा सिन्धुली, गोरखा, काठमाडौंलगायत जिल्लामा जाने गरेको उनले बताइन्। रासस


प्रकाशित : बिहीबार , जेठ ३१ २०८११६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend