शनिबार, साउन १२ गते २०८१    
images
images
images

‘नेपालबाट ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव’

images
मंगलबार, जेठ २९ २०८१
images
images
‘नेपालबाट ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव’

नेपाल उद्योग वाणिज्य महासंघका लगानी तथा अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष मनोज पौडेलले अहिले सूचना प्रविधि क्षेत्रको आकार १६ दशमलव ८९ प्रतिशत वृद्धि भइरहेको उल्लेख गर्दै सरकारले लिएको लक्ष्य हासिल गर्न ३६ प्रतिशतका दरले वृद्धि आवश्यक रहेकोमा जोड दिए।

images

काठमाडौं- नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्ब रूपैयाँको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन्।

images
images

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘सूचना प्रविधि दशक र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानूनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा ३० खर्ब रूपैयाँको सूचना प्रविधि सेवा निर्यात गर्न सम्भव हुने बताए।

images

अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत दश वर्षमा ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्न सरकारले नीतिगत निर्णय गरी उद्योगलाई संरक्षण र प्रवर्द्धन गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको बताए। अर्थमन्त्री पुनले सूचना प्रविधिलाई प्राथमिकतामा राखी कानूनी आधार तयार गरी सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वका लागि उच्चस्तरीय आयोग गठन गर्ने जानकारी दिए।

उनले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौं उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधिपार्क सञ्चालन अगाडि बढाइने जानकारी दिँदै कम्तीमा प्रत्येक प्रदेश समेटिने गरी १० ओटा सूचना प्रविधि पार्क बनाउने योजना सरकारको रहेको बताए।

images

अरु वस्तु तथा सेवा निर्यात गर्दा बल्लबल्ल डेढ खर्बको निर्यातमा पुगेको अवस्थामा आईटी क्षेत्रमा थोरै सहजीकरण गर्न सके वार्षिक रु तीन खर्बको निर्यात गर्न सकिने अनुभव यस क्षेत्रका विज्ञहरुको रहेको पनि उनको भनाइ छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आईटी दशकको लक्ष्यमा पुग्न मन्त्रालयको नेतृत्वमा कार्यदल गठन गरिने स्पष्ट पार्दै हरेक वर्ष गर्नुपर्ने क्रियाकलापको स्पष्ट खाका कोरिने बताइन्।

आगामी आवको बजेटले सूचना प्रविधि क्षेत्रमा लिएका नीति कार्यान्वयनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणले सोही अनुरुप बजेट बनाइरहेको बताउँदै शर्माले स्वदेशमा बनेका सफ्टवेयरलाई स्वदेशमै खपत गराउन सरकार लागि परेको पनि जानकारी दिइन्।

काठमाडौं र बुटवलमा बन्ने सूचना प्रविधि पार्कमा निःशुल्क स्थान उपलब्ध गराउने र सार्वजनिक-निजी साझेदारीमा विभिन्न कार्यक्रम गरिने पनि सञ्चारमन्त्री शर्माले बताइन्। डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र इनोभेसनको प्रवर्द्धन, रोजगारीको सिर्जना, डिजिटल सुशासनका लागि सरकारले आवश्यक नीति र कानुनको परिमार्जन गर्दै अघि बढ्ने दृढता पनि उनले प्रकट गरिन्। आगामी आर्थिक वर्षलाई सूचना-प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाका रुपमा स्थापित गर्ने धारणा राखिन्।

सूचना प्रविधिमार्फत् अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत् आर्थिक सामाजिक रूपान्तरण गर्न सकिने मन्त्री शर्माले स्पष्ट पारिन्। उनले विसं २०७६ सालमा शुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्। सूचना प्रविधि क्षेत्रमा एक लाख जनशक्ति काम गरिरहेको र सरकारसँग स्पष्ट तथ्यांक नभएकाले गाह्रो भइरहेको समेत उनले बताइन्।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) परामर्शदाता एवम् सूचना प्रविधि क्षेत्रमा सीप तथा रोजगार विज्ञ डा अमृता शर्माले सूचना प्रविधि क्षेत्रको विकासका लागि राजनैतिक प्रतिबद्धतासहित नीतिगत स्थिरता आवश्यक रहेको बताइन्। यस वर्ष प्रविधि दशकको प्रस्थान वर्षका रुपमा रहेको र डिजिटल नेपाल फ्रेमवर्क सही मार्गमा आउनुपर्ने उनको भनाइ छ। 

'सूचना प्रविधि दशकका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण आवश्यक छ र सरकार व्यवसाय प्रवर्द्धक र सम्वर्द्धकका रुपमा बस्नुपर्दछ', शर्माले भनिन्। परराष्ट्र मन्त्रालयमार्फत् ‘टेक डिप्लोमेसी’ को अवधारणा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले नेपालको प्रविधि उद्योगलाई विश्वभरी पुर्‍याउन दुतावासहरुले भूमिका खेल्नुपर्ने धारणा राखिन्।

नेपालमा अहिले प्रतिवर्ष १० हजार जना आईटी जनशक्ति उत्पादन भइरहेको र एक खर्ब रूपैयाँको सेवा निर्यात भइरहेको जानकारीसमेत उनले दिइन्।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सूचना प्रविधि दशकको घोषणा महत्वाकांक्षी लक्ष्य नभइ आईटीमा भइरहेको प्रगतिले गर्दा योजना भएको बताए। सूचना प्रविधि क्षेत्रका विज्ञ र उद्यमीसँग छलफल गरेर ल्याएको योजना भएकाले यो लक्ष्य प्राप्त गर्न सहज हुने उनले स्पष्ट पारे।

लोटस होल्डिङसका प्रमुख कार्यकारी अधिकृत अजित विक्रम शाहले यो लक्ष्य हासिल गर्न १० वर्ष पनि नलाग्ने आफ्नो आकलन रहेको बताए। यो क्षेत्रमा सहजता भएमा लगानी गर्न निजी क्षेत्र तयार रहेको उनले स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघका लगानी तथा अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष मनोज पौडेलले अहिले सूचना प्रविधि क्षेत्रको आकार १६ दशमलव ८९ प्रतिशत वृद्धि भइरहेको उल्लेख गर्दै सरकारले लिएको लक्ष्य हासिल गर्न ३६ प्रतिशतका दरले वृद्धि आवश्यक रहेकोमा जोड दिए।

किम्बु टेकका प्रमुख कार्यकारी अधिकृत कर्भिका थापाले सूचना प्रविधि दशकलाई सफल पार्न गाउगाउँमा जनचेतना जागृत गर्नुपर्ने र प्रत्येक विद्यालयमा कम्प्युटर राख्ने मात्र नभइ चलाउन प्रोत्साहन दिनु आवश्यक रहेको बताइन्। रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८११८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend