सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पानी पर्न थालेसँगै लमजुङमा बर्खे धान रोप्न सुरु, पानी पर्याप्त भएमा यसवर्ष चाँडै रोपाइँ सकिने

सोमबार, जेठ २८ २०८१
पानी पर्न थालेसँगै लमजुङमा बर्खे धान रोप्न सुरु, पानी पर्याप्त भएमा यसवर्ष चाँडै रोपाइँ सकिने
फाइल तस्बिर

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिँदै आएको छ। गत वर्षको तुलनामा यसवर्ष धान रोपाइँ छिटो सुरु भएको र पानी पर्याप्त भएमा चाँडै रोपाइँ सकिने केन्द्रले जनाएको छ।

लमजुङ- यहाँ यतिबेला असार अगावै बर्खे धान रोप्न सुरु भएको छ। पानी पर्न थालेसँगै एक हप्ता अघिदेखि लमजुङमा धानको रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत विजयराज पौडेलका अनुसार जिल्लाको राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको बेँसीका फाँटमा धान रोप्न सुरु गरिएको हो। यसबाहेक पनि जिल्लाका अधिकांश ठाउँमा धान रोपाइँको तयारी भइरहेको उनको भनाइ छ।

मर्स्याङ्दी वडा नं ५ घेर्मुका किसानले केही दिनअघिदेखि घेर्मुफाँटमा धान रोप्न सुरु गरेको किसान काम सार्की गुरुङले बताए।

लमजुङमै सबैभन्दा पहिले धान रोप्ने कार्य सुरु गरिने ठाउँ भनेर घेर्मुलाई चिनिन्छ। चिसो ठाउँ भएकाले र प्रशस्त पानीको सुविधा भएकाले धान रोपाइँ सुरु गरेको स्थानीय बबिता घलेले बताइन्।

सो वडाका वडाध्यक्ष लेखमान गुरुङले वडाका फाँटहरुमा केही दिनअघिदेखि धमाधम धान रोपाइँ भइरहेको बताए। विगतका वर्षमा ‘हाइब्रिड’ धान धेरै लगाउने गरे पनि गत वर्षदेखि स्थानीय जातको धानलाई प्राथमिकतामा दिँदै स्थानीय जातको धान घेर्मुफाँटमा लगाउन थालेको किसानहरुले बताएका छन्।
 
जिल्लाका ठूला-ठूला फाँट राइनासटार, धमिलिकुवा, भलाखर्क, चक्रतीर्थ, रामचोकबेँसी, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, परेवाडाँडा, सुन्दरबजार, सत्रसयलगायत स्थानमा रोपाइँ हुने तयारीमा रहेको किसानले बताएका छन्।

किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायत उन्नत जातका धानका साथै लोकनाथ, गोरखनाथ, यूएस-३१२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतका हाइब्रिड जातका धान लगाउँदै आएका छन्।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिँदै आएको छ। किसानहरुले पानी कम हुने ठाउँमा भने  सुक्खा-१, सुक्खा-२, सुक्खा-३ लगाउने गरेका छन्।

गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ छिटो सुरु भएको र पानी पर्याप्त भएमा चाँडै रोपाइँ सकिने केन्द्रले जनाएको छ। यतिबेला धान रोपाइँका लागि किसानहरु व्यस्त हुन थालेको बताइएको छ। रासस


प्रकाशित : सोमबार, जेठ २८ २०८११४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend