शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

खेतीको समयमा मल नपाउँदा किसान चिन्तित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ११ २०७८
खेतीको समयमा मल नपाउँदा किसान चिन्तित

सर्लाही- यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन्। हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ।

जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गरे। 

मलखाद नपाएर किसानलाई बाली बिग्रिने चिन्ताले सताएको छ। यहाँ मलखादका बिक्रेताले मलखाद चर्काे मूल्यमा बाहिरै बेच्ने गरेको किसानको आरोप छ। सर्लाहीमा युरिया एक हजार बोरा र डिएपी ८००  बोरा आयात भएकामा युरियाप्रति बोरा ८ सय १५ रुपैयाँ र डिएपी मल प्रतिबोरा २ हजार २ सय ६५ रुपैयाँमा सहकारी संस्थामार्फत बिक्रीवितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख दीपक थापा मगरले बताए। 

उनका अनुसार स्थानीय निकायको सिफारिसमा आएका डिलरलाई कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ। डिलरवालाले सरकारी अनुदानमा पाएको मलखाद चर्काे मूल्यमा बिक्रीवितरण गरिरहेको किसानको आरोप छ। सरकारी अनुदानको मलखाद जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधि पसलमा समेत खुलेआम चर्काे मूल्यमा बिक्रीवितरण भइरहेको किसानले बताएका छन्। 

जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले प्रतिबोरा १ हजार २ सयदेखि १ हजार ५ सय र डिएपी मल ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा किन्न बाध्य भएका छन्।

कृषि सामग्री कम्पनी लिमिटेडले बिक्री वितरण गरेको मलको वस्तुगत अवलोकन तथा अनुगमन गर्नुपर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय निष्क्रिय भएका कारण अहिले आफुहरुले चर्काे मूल्यमा मलखाद खरिद गर्नुपरेको उनीहरुको आरोप छ। 

कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय निकायले सिफारिस गरेका कृषि सहकारीलाई सरकारी दरमा मल दिएको जनाउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पञ्छिने गरेको छ। जिल्लामा रहेका २० पालिकाले सिफरिस गरेका १७० कृषि सहकारीमार्फत कार्यालयले मल वितरण गरी रहेको छ। रासस


प्रकाशित : आइतबार, पुस ११ २०७८०६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend