शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

माथिल्लो तमोरमा लगानी जुटेसँगै तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने घोषणा

एभरेष्ट बैंकसहित ९ वित्तीय संस्थाको ऋण लगानी

बिहीबार , जेठ २४ २०८१
माथिल्लो तमोरमा लगानी जुटेसँगै तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने घोषणा

काठमाडौं- निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो लगानी हुन लागेको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी जुटेसँगै समयमा नै सम्पन्न गर्ने घोषणा लगानीकर्ताले गरेका छन्।

बिहीबार आयोजनाको वित्तीय व्यवस्थापन समारोह कार्यक्रममार्फत प्रवर्द्धक कम्पनी तमोर इनर्जीले २ सय ८५ मेगावाट क्षमताको आयोजना तोकिएकै समयमा सम्पन्न गर्ने जनाएको हो। 

कार्यक्रमा अपर तमोर इनर्जी कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले २०४९ सालको विद्युत ऐन ल्याउने शैलाजा आचार्यकै कारण निजी क्षेत्रले अहिले ठूलो लगानी गर्न सक्ने अवस्थामा पुगेको बताए।

‘२१ वर्षअघि १ मेगावाटको आयोजना निर्माण गरेर दुई दशकमै २८५ मेगावाटको आयोजना बनाउन सक्ने अवस्थामा पुगेका छौँ, यो नै सफलता हो,’ अध्यक्ष ढुंगानाले भने। निर्माण चरणमा गएको यो नेपालकै ठूलो आयोजना हो। ताप्लेजुङ जिल्लाको विकासमा यो आयोजनाको ठूलो योगदान पुग्नेसमेत अध्यक्ष ढुंगानाले बताए। 

आयोजना जति नै राम्रो र सम्भाव्य भए पनि लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले लगानी नगरेसम्म आयोजना अघि बढ्न नसक्ने बताउँदै ऋण लगानी गर्ने संस्थाहरूकै कारण अब निर्माणमा जाने बाटो खुलेकोसमेत ढुंगानाले बताए।

वित्तीय व्यवस्थापनको नेतृत्व एभरेष्ट बैंकले लिएको छ। कृषि विकास बैंक, एचआईडीसीएल, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक र गरिमा विकास बैंकले पनि लगानी गर्ने छन्। 

निर्माण अवधिको ब्याजसहित ५५ अर्ब लागत अनुमान गरिएको छ। ३० प्रतिशत इक्वीटी र बाँकी ऋण लगानी हुनेछ। एभरेष्ट बैंकले ५ अर्ब रुपैयाँ लगानी गर्नेछ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चार अर्ब, कृषि विकास बैंक लिमिटेडले चार अर्ब रुपैयाँ लगानी गर्नेछन्।

कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ, गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन्। 

एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले निजी क्षेत्रले निर्माण गरिरहेको अहिलेसम्मकै ठूलो २८५ मेगावाटको अपर तमोर जलविद्युत आयोजनामा ऋण लगानीकर्ता बैंकहरूको तर्फबाट अगुवाइ गर्न पाउँदा खुसी लागेको बताए। ९०० मेगावाटको अरुण तेस्रोको सुरुङ ब्रेक थ्रु भएको दुई दिनपछि स्वदेशी निजी क्षेत्रबाट निर्माण हुने ठूलो आयोजनाको वित्तीय व्यवस्थापन हुनु सकारात्मक भएकोसमेत उनले बताए।

‘नेपाली बैंक तथा वित्तीय संस्थाहरू यो क्षमताका आयोजनामा लगानी गर्न सक्षम छन् भन्ने कुरा पुष्टि भएको छ,’ सीईओ खालिङले भने। 

जलविद्युत् आयोजना निर्माण कार्य २०७९ पुस महिनाबाट सुरु गर्ने घोषणा गरिए पनि वित्तीय व्यवस्थापन हुन नसक्दा रोकिएको थियो। अबको केही महिनाभित्रै आयोजना निर्माण सुरु हुने जनाइएको छ।

निर्माण सुरु भएको ६ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको माथिल्लो तमोर आयोजनाको व्यापारिक उत्पादन २०८५ जेठ १९ गतेबाट गर्ने योजना रहेको थियो। अब २०८६ सम्ममा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ। 

आयोजनाको जेनेरेसन लाइसेन्स क्षमता २८५ मेगावाट रहेको छ। पीपीए २५५.२८१ मेगावाटको लागि रहेको छ। वार्षिक १४७९.८७ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ। यस आयोजनाले बर्सेनि कुल १ अर्ब ४७ करोड ९८ लाख ७७ हजार ९ सय ३९ किलोवाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ।

आयोजनाको ड्राइ सिजनमा पिक इनर्जी २६ करोड ५३ लाख १९ हजार ९ सय ४२ किलोवाट विद्युत् उत्पादन हुन्छ। ड्राइ सिजनको नन् पिकमा १८ करोड ८ लाख ९६ हजार २ सय ९० किलोवाट विद्युत् उत्पादन हुनेछ। यसरी ड्राइ सिजनमा कुल ४४ करोड ६२ लाख १६ हजार २ सय ३२ किलोवाट विद्युत् उत्पादन हुनेछ। वेट सिजनमा १ अर्ब ३ करोड ३६ लाख ६१ हजार ७० सय ७ किलोवाट विद्युत् उत्पादन हुने छ।


प्रकाशित : बिहीबार , जेठ २४ २०८११९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend