सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

दुबईबाट फर्किएर व्यावसायिक पशुपालन, मासिक ३ लाखभन्दा बढी आम्दानी

बुधबार, जेठ २३ २०८१
दुबईबाट फर्किएर व्यावसायिक पशुपालन, मासिक ३ लाखभन्दा बढी आम्दानी

उनले बिहान-बेलुका गरी दैनिक ९६ लिटर दूध बजार पुर्‍याउने गरेका छन्। अन्य खर्च कटाएर मासिक तीन लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।

दाङ- घोराही उपमहानगरपालिका-६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आएका छन्। २० वर्ष दुबईमा रोजगारी गरेर फर्केपछि ‘बहुउद्देश्यीय कृषि तथा पशुपक्षी’ फार्म दर्ता गरी व्यावसायिक पशुपालन थालेका हुन्।

उनका फार्ममा लैना भैँसीसँगै एकनासका पाडापाडी आरामले बसेका देखिन्छन्। बाबुरामले फार्म श्रीमती विमला वलीका नाममा दर्ता गरेका हुन्। महिलाका नाममा व्यवसाय दर्ता गर्दा सहुलियत पाइने भएकाले यसो गरेको उनको भनाइ छ।

बाबुरामले ३६ वटा भैँसी किनेर व्यवसाय सञ्चालन गरेको बताए। अहिले फार्ममा आठ दुहुना भैँसी र तिनका आठवटा पाडापाडी रहेका भन्दै देउखुरीको बेलामा नौवटा भैँसी रहेका उनले बताए।

'दूध दिँदासम्म आफैले राख्ने दूध दिन छोडेपछि (बकेर्नो) भैँसीलाई देउखुरीको बेला गाउँपालिकाका यादव समुदायलाई मासिक रकम दिएर पाल्न लगाउँछौँ। भैँसी बियाउने भएपछि फेरि फार्ममा ल्याउछौँ', बाबुरामले भने। यसरी आफूलाई पनि सहज भएको र यादव समुदायका बेरोजगार युवालाई केही आम्दानी पनि भएको उनको भनाइ छ।

बिहान-बेलुका गरी दैनिक ९६ लिटर दूध बजार पुर्‍याउने गरेको बाबाुरामले बताए। महिनाको ३० हजार रूपैयाँ भैँसीको दानापानी र अन्य खर्च कटाएर तीन लाख ४० हजार रूपैयाँ आम्दानी भइरहेको उनले जानकारी दिए।

आफैले मोटरसाइकलमा क्यान राखेर दूध घोराही बजारका ग्राहकका घरघरमा पुर्‍याउने गरेको उनको भनाइ छ। 'आफ्नो काम गर्न लाज मान्नु हुँदैन। पसिनाको कमाइ मीठो हुन्छ। भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ', उनले भने।

गत वर्ष दूध बिक्री गरेर जम्मा भएको रकमले साढे दुई कट्ठा जग्गा थपेको बाबुरामले बताए। 'भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने भएकाले बाहिरबाट किन्नु पर्दैन,' उनले भने, 'गोठको एउटा कोठामा बरसिम घाँस, गहुँको भुस राखेको छु।'

वार्षिक २० हजार रूपैयाँमा साढे एक बिघा खेत भाँडामा लिएर घाँसखेती गरिरहेको बाबुरामको भनाइ छ। हालसम्म स्थानीय तह वा सरोकार भएका निकायबाट कुनै अनुदान वा तालिम नपाएको भन्दै उनले कहाँबाट कसरी सहयोग लिने भन्ने अनभिज्ञ रहेको बताए।

बाबुरामले भैँसीबाहेक १७ वटा खसी, बोका र बाख्रा पालेका छन्। 'भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ, त्यसमा अलिकति थपे बाख्रालाई पुग्छ। एउटै मेहनतमा दोहोरो फाइदा लिन सकिने भएकाले बाख्रा पनि पालेको हो,' उनले भने।

उनका अनुसार गत बैशाखमा ७० किलोको खसी कटाउँदा ५६ हजार रूपैयाँ आम्दानी भएको थियो। बाख्रापालनबाट दैनिकरुपमा आम्दानी नभए पनि मासिकरुपमा हुने उनको भनाइ छ।

रोल्पाको तिला गाउँपालिका पुरानो बासस्थान भएका वली नेपाल आर्मीमा भर्ना भइ तालिम गरी सेनामा आबद्ध भएका थिए। तत्कालीन समयमा मुलुकमा जनयुद्ध चलिरहेकाले सेनाको काम छोडेर भारत गएको उनले बताए। भारतमा छ महिना काम गरेर फर्केपछि ८० हजार रूपैयाँमा घोराही-६ बचाहामा जग्गा किनेको बाबुरामले जानकारी दिए।

'पछि दुबईका लागि भिसा लगाएर गएँ । २० वर्ष दुबई बसेपछि स्वदेश मै केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्केर पशुपालन थालेको हुँ', उनले भने, 'परिवारसँगै बसेर काम गर्दा विदेशको तुलनामा सहज हुनाका साथै आम्दानी पनि मनग्ये हुने रहेछ।'

उनले युवालाई विदेश जान रोक्नका लागि तीनै तहका सरकारले सीपमूलक तालिमका साथै रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : बुधबार, जेठ २३ २०८११३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend