सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

घिरिङमा ७० रोपनीमा व्यावसायिक अङ्गुरखेती, पहिलो वर्ष नै ९ हजार किलो उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २३ २०८१
घिरिङमा ७० रोपनीमा व्यावसायिक अङ्गुरखेती, पहिलो वर्ष नै ९ हजार किलो उत्पादन

कम्पनीले धादिङमा समेत ३८ करोड ५० लाख रुपैयाँको लागतमा अङ्गुरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको छ।

तनहुँ- जिल्लाको घिरिङ गाउँपालिका-४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो।

घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष ९ हजार किलो अङ्गुर उत्पादन भएको थियो। यसवर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए। 

उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजार रुपैयाँसम्म खरिद गरी ल्याइएको थियो। उनले भने, 'पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ।'

अङ्गुरखेतीका लागि एक करोड ५० लाख रुपैयाँ लगानी भएको छ। यहाँ उत्पादित अङ्गुर धादिङमा पठाउने गरिएको छ। 

धादिङको थाँक्रे गाउँपालिका-१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताए। कम्पनीले धादिङमा ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको हो। 

कार्कीले भने, 'कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ।'

फार्ममा ३२ प्रजातिका अङ्गुरखेती गरिए पनि आठदेखि १० प्रजातिका अङ्गुरबाट मात्र मनग्य उत्पादन भएको उनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, जेठ २३ २०८११०:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend