सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

युवावर्गलाई कृषिमा लाग्न सुझाउँदै तरकारी खेतीमा पूर्वशिक्षक

बिहीबार , जेठ १७ २०८१
युवावर्गलाई कृषिमा लाग्न सुझाउँदै तरकारी खेतीमा पूर्वशिक्षक
फाइल तस्बिर

मध्यबिन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१६ का नारायण लामिछानेको दैनिकी हिजोआज कृषि कर्ममा बित्ने गरेको छ। स्नातकोत्तरसम्मको पढाइ पूरा गरेका उनी १४ वर्षको शिक्षणपछि पूर्णरूपमा कृषि कार्यमा खटिएका हुन्। विगत दुई वर्षदेखि उनी माटोसँग खेलिरहेका छन्।

स्थानीय विद्यालय र क्याम्पसका अङ्ग्रेजी अध्यापक उहाँ आफ्नै खेतबारीमा व्यस्त छन्। 'स्नातकोत्तरसम्मको पढाइ पूरा गरेर १४ वर्ष अध्यापन गरेँ तर मलाई कक्षा कोठामा पढाउनभन्दा कृषि कर्म राम्रो लाग्यो दुई वर्षदेखि पूर्णरूपमा खेतबारीमा रमाएको छु', उनले भने, 'अहिले मेरो आम्दानीको स्रोत नै कृषि हो।'

विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि पछिल्लो सात वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको उनले बताए। कुनै विषादीको प्रयोग नगरी जैविक उत्पादन गरेकाले खेतबारीबाट नै तरकारी बिक्री हुने गरेको उनको भनाइ छ।

'मौसमी र बेमौसमी तरकारी खेती गर्ने गरेका छौँ, बाह्रैमास हाम्रा खेतबारी हराभरा हुन्छन्', उनले भने, 'उत्पादन भएको तरकारी स्थानीय बजारमा नै खपत हुने गरेको छ।'

अहिले उनको खेतबारीमा लौका घिरौँला, करेला, बोडी, टमाटर, फर्सीको मुन्टा र खरबुजालगायतका तरकारी फलेको देख्न सकिन्छ। हिजोआज गर्मी सिजन भएकाले खरबुजाको माग र बिक्री धेरै भइरहेको छ।

बारीबाट टिपेको ताजा तरकारी सहुलियत दरमा स्थानीयलाई बिक्री गर्ने गरिएको छ। कहिलेकाहीँ उत्पादन बढी हुँदा आफैले गाडीमा राखेर बिक्री गर्न हिँड्ने गरेको लामिछानेले बताए।

'आफ्नो घरमा बसेर तरकारी खेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ', उनले भने, 'कृषिका लागि बैंकबाट लिएको २० लाख रूपैयाँ ऋणको ब्याज तिर्ने र घर खर्च चलाउने सबै खर्च तरकारी खेतीबाट भएको आम्दानीले नै पुग्ने गरेको छ।'

उनका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी शिक्षण पेसा गरिरहेका छन् तर लामिछाने भने आफ्नै गाउँघरमा तरकारी खेतीबाट खुसी छन्। तरकारी उत्पादनमा दैनिक श्रम गर्दा आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुने गरेको लामिछानेले बताए।

अधिकांश युवा रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दो छ। स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि नारायण लामिछाने प्रेरणाको स्रोत बनेका छन्। उनी स्वदेशमा नै श्रम गर्न सबै युवालाई सुझाउँछन्। रासस


प्रकाशित : बिहीबार , जेठ १७ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend