सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

जुम्लाका किसानलाई मार्सी रोपाइँको चटारो

बिहीबार , जेठ १७ २०८१
जुम्लाका किसानलाई मार्सी रोपाइँको चटारो
फाइल तस्बिर

केही समययता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका छन्। जुम्लाको एक हजार दुई सय हेक्टरमा मार्सी धानखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ।

जुम्ला- जुम्लाका आठवटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन्।

तातोपानी गाउँपालिकाका स्थानीयवासी लक्ष्मी कार्कीका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर मार्सीको रोपाइँ हुने गरेको छ। केही समययता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका छन्। 

जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।

जिल्लाका प्रसिद्ध  चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए।

पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँका ज्युलहरु रोपाइँ हुन्थ्यो तर हाल त्यो प्रचलन हराउँदै गएको छ। चन्दननाथमा चढाउन पनि मार्सी धान रोप्ने गरिन्छ।

जिल्लाको एक हजार दुई सय हेक्टरमा मार्सी धानखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ। सरकारले मंगलबार संघीय सभामा प्रस्तुत गरेको बजेटमा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सी धान करिडोर विकासका लागि नयाँ परियोजना समेटेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १७ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend