शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिस्ने हिमालनजिक सडक खन्न हेलिकोप्टरबाट लगियो डोजर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ९ २०७८
सिस्ने हिमालनजिक सडक खन्न हेलिकोप्टरबाट लगियो डोजर

अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याइएको।

जाजरकोट- सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ।

अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए।

आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए। नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ। सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो।

नगरपालिकाको वडा नं ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नं १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो। सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ।

वडा नं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो। नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ । हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ। रासस


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend