सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मनग्य आम्दानी हुने भएपछि व्यावसायिक अदुवाखेतीप्रति किसान आकर्षित

मंगलबार, जेठ १५ २०८१
मनग्य आम्दानी हुने भएपछि व्यावसायिक अदुवाखेतीप्रति किसान आकर्षित

गत असार मसान्तदेखि २०८१ जेठ १० सम्ममा सात हजार ८५७ मेट्रिकटन अदुवा बिक्रीबाट एक अर्ब ३७ करोड ४९ लाख रूपैयाँ आम्दानी भएको छ।

सुनसरी- शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लागेका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका तिलक राईले यस वर्ष अदुवाखेतीबाट प्रशस्त आम्दानी भएको बताए। गत वर्षको तुलनामा यस वर्ष उनले अधिक आम्दानी गरेका हुन्।

४० वर्षदेखि उनी अदुवाखेती गर्दै आएका छन्। पूर्वशिक्षक राईले वर्षमा सातदेखि १० क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताए। अहिले खुद्रा प्रतिकेजी एक सय ५० देखि दुई सय ८० रूपैयाँसम्ममा बिक्री हुने गरेकाले राम्रो आम्दानी हुने गरेको उनी बताउँछन्। उनले भने, 'अदुवाखेती गर्नका लागि अलि भिरालो ठाउँ फोस्रो माटो आवश्यक पर्छ, ठाउँअनुसार राम्रो उत्पादन भइरहेको छ।'

हाल विष्णुपादुकामा अदुवाखेती गर्ने दुई सय बढी किसान रहेका राईले बताए। उनी सो स्थानका सफल व्यवसायी छन्। उनले विष्णुपादुकामा रहेर अदुवाखेतीबाहेक अम्लिसो, बेसार, अकबरे खुर्सानीलगायत कृषि उपज उत्पादन तालिम दिँदै आएका छन्।

व्यावसायिक रूपमा अदुवाखेती गर्दै आएका धरान उपमहानगरपालिका-२० का अर्का किसान पदम राई मौसमले साथ दिँदा अदुवाखेतीबाट मनग्य आम्दानी हुने गरेको बताए। उनले वार्षिक १० क्विन्टलभन्दा बढी अदुवा उत्पादन गर्दै आएको बताए। उनले विष्णुपादुका क्षेत्रमा मात्र नभएर मोरङको लेटाङमा समेत जग्गा लिजमा लिएर अदुवाखेती गरेका छन्। वार्षिक तीन लाख रूपैयाँसम्मको अदुवा बेचेको उनले सुनाए।

विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए। उनले कोशी करिडोरका पहाडी जिल्लाका किसानले अत्यधिक मात्रामा अदुवा ल्याउने गरेका तथा सगरमाथा करिडोर सिन्धुलीबाट पनि अदुवा बोकेर किसान आउने गरेका बताए। विशेषगरी धेरै अदुवा जेठदेखि भदौसम्म बिक्री हुने गरेको जानकारी उनले दिए।

दैनिक रुपमा एक सयदेखि दुई सय मेट्रिक टन अदुवा धरान कृषि बजारबाट बिक्री हुने गरेको उनले बताए। विसं २०८० असार मसान्तदेखि २०८१ जेठ १० गतेसम्ममा धरान उपमहानगरपालिका १३ कृषिबजारबाट जम्मा सात हजार आठ सय ५७ मेट्रिकटन अदुवा बिक्रीबाट एक अर्ब ३७ करोड ४९ लाख ७५ हजार रूपैयाँ आम्दानी भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताए। 

अदुवा निकासीमा सरकारको सहयोग अपरिहार्य भएको उनी बताउँछन्। बेलाबेलामा धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, पाँचथर, ताप्लेजुङलगायत ठाउँबाट किसानले अदुवा ल्याउने गरेका छन्।

भारत मात्र नभएर तेस्रो देश निर्यातको गृहकार्य गर्नुपर्ने अध्यक्ष भट्टराई बताउँछन्। अदुवाको बजार उत्साहजनक भएकाले अधिकभन्दा अधिक उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी भएको उनले बताए। रासस


प्रकाशित : मंगलबार, जेठ १५ २०८११२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend