शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मैले सेयरबजार सिद्धिनुपर्‍यो भनेको होइन, वित्तिय पुँजीवादको कुरा गरेको हुँ : प्रचण्ड

बिहीबार , पुस ८ २०७८
मैले सेयरबजार सिद्धिनुपर्‍यो भनेको होइन, वित्तिय पुँजीवादको कुरा गरेको हुँ : प्रचण्ड
तस्बिर: रासस

काठमाडौं-  पुँजी बजारलाई साम्राज्यवादको विकसित रूपको संज्ञा दिएका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भनाइमा अडिग रहँदै त्यसमा थप ब्याख्या गरेका छन्। 

वित्तीय एकाधीकारवादलाई प्रोत्साहन गर्ने गरी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले काम गरिरहेको आरोपसमेत लगाएका प्रचण्डले सेयर बजारबारे आफ्नो कुरा नबुझिएको र कतिपयले तोडमोड गरेको भन्दै न्युज एजेन्सी नेपालसँग प्रतिक्रिया दिएका छन्। 

'मैले कुनै सेयरबजार सिद्धिनुपर्‍यो नेपालको भन्न खोजेकै होइन। म त लगानीकर्ताको पक्षमा छु। तर मैले त ठूलो सैद्धान्तिक बहस पो गर्न खोजेको हो। नेपालले रणनैतिक रुपले कुन बाटो समात्नुपर्ला भन्ने बहस पो उठाउन खोजेको हो। मैले कसैलाई अहिले भर्खरै घाटा पार्न खोजेको हो र? त्यसकारण कुरा त्यो होइन, कुरा अलि ठूलो हो भन्न चाहन्छु' प्रचण्डले भनेका छन्।

आफूले गरेको ब्याख्याले तरंग आएको भन्दै उनले भनेका छन्- 'मानिसहरूले नबुझेर तरंग आएको हो। मैले भनेको एउटा अन्तर्राष्ट्रिय स्तरका प्रवृत्तिहरू हो। अन्तर्राष्ट्रिय आर्थिक प्रवृत्तिहरू के छ, पुँजीवादले कस्तो प्रवृत्ति बढाइरहेको छ? हामी समाजवादीले अब कस्तो प्रवृत्तितिर कस्तो योजनातिर सोच्नुपर्छ भनेर गरेको व्याख्यालाई मानौँ नेपालको अहिले भर्खरकै संरचनामाथि हमला गरेको हो भनेको जस्तो गरी बुझियो। प्रचार गरियो।'

उनी अघि भन्छन्- 'जानिबुझी कतिपयले त्यसलाई तोडमोड गरे। मेरो भनाइ त्यो होइन। म त अहिले पनि भन्छु, पुँजीवाद अहिले वित्तिय पुँजीवादको रुपमा देखिएको छ। नाफा कमाउनु तिनीहरूको मुल ध्येय छ। पुँजीको लागनी उत्पादनमुलक कार्यमा भन्दा छिटो पैसा आउने काममा घरजग्गा किनबेचका जस्ता काममा लागेको छ। छिटो पैसा त्यहाँबाट आउँछ। वा अरु त्यस्ता मुद्राबाट मुद्रा कमाउने? पैसाको लगानी पैसाको लागि गर्ने, उत्पादनको लागि नगर्ने, प्रवृत्ति हाबी छ भन्न खोजेको हो मैले।' 


प्रकाशित : बिहीबार , पुस ८ २०७८०८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend