सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कञ्चनपुरमा गहुँ उत्पादनमा तीन प्रतिशत वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ११ २०८१
कञ्चनपुरमा गहुँ उत्पादनमा तीन प्रतिशत वृद्धि

निर्माणाधीन महाकाली सिँचाइ तेस्रो चरण आयोजना सम्पन्न भए कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी ३३ हजार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा पुग्ने छ।

कञ्चनपुर- ९ पालिका रहेको कञ्चनपुरमा यो वर्ष गहुँ उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र महेन्द्रनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख एक सय ८४ मेट्रिकटन गहुँ उत्पादन भएको जनाएको छ। 

केन्द्रका सूचना अधिकृत हरिदत्त जोशीले यहाँ ३१ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा गहुँखेती हँदै आएको बताए। 'यहाँ दुई दशमलव २१ प्रतिहेक्टर गहुँ उत्पादकत्व रहेको छ', उनले भने, 'गत वर्षभन्दा तीन प्रतिशतले उत्पादन बढेको छ।'

जोशीका अनुसार गत वर्ष कञ्चनपुरमा ९७ हजार तीन सय ७५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यहाँ ५९ हजार छ सय दुई हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको बताउँदै उनले यहाँ ५६ हजार ६०२ हेक्टरमा मात्रै खेती गरिँदै आएको जानकारी दिए। 

'कञ्चनपुरमा अझै कुल जनसङ्ख्याको ७२.६३ प्रतिशत नागरिक कृषिमा निर्भर छन्', सूचना अधिकृत जोशीले भने, 'अझै सबैतिर सिँचाइ सुविधा पुग्न सकेको छैन। सिँचाइ सुविधाको पहुँच विस्तार गर्न सके उत्पादनमा पनि वृद्धि हुने थियो।'

उनले हालसम्म ४० हजार ७२५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको जानकारी दिए।

यहाँ निर्माणाधीन महाकाली सिँचाइ तेस्रो चरण आयोजना सम्पन्न भए कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी ३३ हजार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा पुग्ने छ। सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि कञ्चनपुर र कैलाली अन्न भण्डार मान्छिन्। रासस


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend