सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ११ २०८१
व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन्।

भोजपुर- टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो। बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ।

८० रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उनले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय भएका छन्।

'यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु', रञ्जित गिरीले भने, 'रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन्।' 

करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा ९० लाख रुपैयाँ लगानी गरेका छन्। चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ।

विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहनुभएको उनको यो उद्योग भोजपुरमा एक्लो हो। हालसम्म चियाका लागि करिब दुई करोड ५० लाख लगानी गर्नुभएका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्कसमेत पाइसकेको उनले जानकारी दिए। 

'अग्र्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन', उनले भने।  

गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए। उनले हाल अग्र्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी एक हजार आठ सय, कालो चिया एक हजार दुई सय र सिल्भर चिया ३० हजारमा बिक्री गर्दै आएका छन्।

उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन्। 

'चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ', उनले भने, 'चियाखेती हुने क्षेत्रफल बढाउने  पनि योजना छ।' हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन्।

बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए। उनले चियाको नर्सरीसमेत आफै गर्दै आएका छन् भने किसानलाई आवश्यक परामर्श पनि दिन्छन्।

युवा व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि तीन लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। रासस


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend