सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

किसानलाई व्यावसायिक बनाउन फलेवासमा ‘बिरुवा हाम्रो, फल तपाईँको कार्यक्रम’

मंगलबार, जेठ ८ २०८१
किसानलाई व्यावसायिक बनाउन फलेवासमा ‘बिरुवा हाम्रो, फल तपाईँको कार्यक्रम’

व्यावसायिक रुपमा लागेका किसान, कृषि समूह, सहकारी वा फर्मले न्यूनतम १० वटाभन्दा बढी बिरुवा माग गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

पर्वत- किसानलाई व्यावसायिक फलफूल खेतीमा आकर्षित गर्न फलेवास नगरपालिकाले ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’ सुरु गरेको छ।  

व्यावसायिक रुपमा फलफूल खेती गर्न इच्छुक किसानलाई आवश्यकताअनुसार बिरुवा उपलब्ध गराउन नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो। नगरका ११ वटै वडाका किसानले यस कार्यक्रम अन्तर्गत हावापानी र भौगोलिक अवस्था अनुसारका फलफूलका विरुवा माग गर्न सक्ने छन्। 

फलेवासमा आँप, लिची, सुन्तला, कागती, जुनार, एभोकाडो, अम्बा, अङ्गुर, ड्रागन फ्रुट, केरालगायत फलफूलको उत्पादन हुँदै आएको छ। राम्रो उत्पादन हुने फलफूललाई व्यावसायिक रुपमा खेती गरेर किसान स्वरोजगार बनुन र नगरपालिकालाई नै फलफूलमा आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख गंगाधार तिवारीले जानकारी दिए।

जुन वडामा जुन फलफूल बढी उत्पादन हुन्छ त्यही विस्तार गर्न सकेमा किसान लाभान्वित हुने उनको भनाइ छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवाहरु उपलब्ध गराउने छ।

व्यावसायिक रुपमा लागेका किसान, कृषि समूह, सहकारी वा फर्मले न्यूनतम १० वटाभन्दा बढी बिरुवा माग गर्नुपर्ने नगरपालिकाले जनाएको छ। १० वटाभन्दा कम सङ्ख्यामा लगाउने किसानले व्यावसायिक रुपमा प्रगति हासिल नगर्ने भएकाले धेरैभन्दा धेरै सङ्ख्यामा बिरुवा लगाउन भन्ने नगरको उद्देश्य रहेको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले जानकारी दिइन्।

युवा शक्तिको बढ्दो पलायन, बसाइँसराइ, बाँदर आतंक, जनशक्तिको अभावलगायत कारण बढ्दै गएको बाँझो जमिनको सदुपयोग गर्नका लागि पनि फलफूल खेती विस्तारमा नगरले जोड दिएको हो। किसानलाई बिरुवासँगै अन्य प्राविधिक सहयोग पनि नगरले गर्ने भएको छ। 

सुन्तला खेती हुँदै आएको छ। यी वडावाट वार्षिक चार करोड रूपैयाँभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ। यी दुई वडामा सुन्तला खेतीको राम्रो सम्भावना रहेको छ।

खानीगाउँ, मुडिकुवा, देवीस्थानमा आँप, लिची, कटहर, एभोकाडो, कागती, केरालगायत फलफूल प्रशस्त मात्रामा उत्पादन गर्न सकिने फलेवास नगरपालिकाका कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिए।

किसानको माग सङ्ख्या र प्राथमिकताका आधारमा बिरुवाहरु उपलब्ध गराइने उनले बताए। यसका लागि किसान वा कृषि संंस्थाले नागरिकता, फर्म दर्ताको प्रमाणपत्र, जग्गाको लालपुर्जा, सम्बन्धित वडा कार्यालयको सिफारिस र न्यूनतम १० वटा बिरुवाभन्दा बढी माग गरेको निवेदन बुझाउनुपर्ने उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, जेठ ८ २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend