सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

इलाममा अघि बढ्यो चिया तथा अलैँची अनुसन्धान केन्द्रको काम [भिडियो]

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ८ २०८१
इलाममा अघि बढ्यो चिया तथा अलैँची अनुसन्धान केन्द्रको काम [भिडियो]

स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षासमेत लिइएको छ।

इलाम- इलाममा चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापनाको काम अघि बढेको छ। चिया रोपिएको डेढ सय वर्षपछि भएपनि यहाँ चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। 

इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धान केन्द्र स्थापना निर्माण जारी छ। चिया तथा अलैँची अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका-१ साँखेजुङमा हाल भवन निर्माणको काम भइरहेको छ। 

चिया र अलैँचीको उर्भर भूमी इलाममा व्यावसायिक रुपमा चिया तथा अलैँचीको उत्पादन भएको लामो समयपछि यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ।

नि:शुल्क जग्गा दान प्राप्त भएपछि हाल दुईवटा भवन निर्माणको काम भइरहेको छ। यसले इलाम नगरपालिका-१ साँखेजुङ कृषि अनुसन्धान केन्द्रका नामले समेत चिनिने वडाध्यक्ष गायत्रीराम बस्नेतले बताएका छन्। 

राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ। 

इलाममा चिया उत्पादन हुन थालेको करिब एक सय ६० वर्ष पछि चिया अनुसन्धानका लागि केन्द्र स्थापना हुने भएको हो। नगरपालिकाको पहलमा जग्गा प्राप्त भएको र यसले सिंगो नगरपालिका र जिल्लालाई फाइदा मिल्ने इलाम नगरपालिकाका मेयर केदार थापाले बताए। 

जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु भएको छ। जसमा पहिलो चरणमा भवन निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ। सो स्थानमा भवन निर्माणका लागि ठेक्का लागेर काम भइरहेको छ।

ilam tea chiya.jpg

चिया प्रशोधनतर्फ समेत काम अगाडी बढेको छ। अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका-१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ। अब थप ५२ रोपनी जग्गा आवश्यकता परेको जनाइएको छ। 

पहिलो चरणमा कम्पाउन्डका लागि तारबार र कार्यालय भवन निर्माण गरिने छ। अनुसन्धान केन्द्रका लागि पूर्णरुपमा सञ्चालनका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक पर्ने भएकाले थप जमिन दाताहरुसँग खोजी भइरहेको छ। अन्य जग्गादाताले अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने जमिनसमेत उपलब्ध गराउन पहल भइरहेको छ । 

इलाममा धेरै किसान चियामा आत्मनिर्भर छन्। उत्तिकै सङ्ख्यामा अलैँची किसानसमेत रहका छन्। विदेशी मुद्रा आजर्न गर्ने नगदेवालीमा पर्ने अलैँची र चियाको विकासका लागि एकैसाथ काम भइरहेको इलाम नगरपालिकाका प्रमुख थापाको भनाइ छ। 

अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वर भूमि भएकाले यहाँ चिया तथा अनुसन्धान केन्द्रको काम अगाडी बढाइएको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रीवास धनकुटाका संयोजक हिमालप्रसाद दाहालले बताए। 

इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ। स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षासमेत लिइएको छ। रासस

 


प्रकाशित : मंगलबार, जेठ ८ २०८११२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend