सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आम्दानीको स्रोत बन्दै बगरखेती, लागत कटाएर दुई लाखसम्म बचत

सोमबार, जेठ ७ २०८१
आम्दानीको स्रोत बन्दै बगरखेती, लागत कटाएर दुई लाखसम्म बचत
फाइल तस्बिर

कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा झन्डै एकसय परिवार मुक्तकमैयाको बसोबास छ। कमैया मुक्तिको घोषणापछि पुनःस्थापना हुँदा सरकारले पाँच कठ्ठा जग्गा दिएको थियो।

दोधारा चाँदनी- कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा खरले बनेका स-साना छाप्रा देखिन्छन्। महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्ग छेउमा राखिएका यी छाप्रा यहाँका किसानको जीविकोपार्जनको स्रोत बनेको छ।

राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुको यहाँ खरबुजा काँक्रा, लौकालगायत तरकारी किन्न घुइँचो लाग्ने गर्दछ। यहाँका विपन्न समुदायका नागरिकले राजमार्ग छेउमा रहेको बगरमा तरकारीखेती गरेर जीविकोपार्जन गर्दै आएका छन्।

पुस/माघमा बगरमा रोपिएको तरकारी तयार भएपछि बेच्नका लागि हरेक वर्ष यसैगरी राजमार्ग छेउमा पसल थाप्ने गरेको किसान रामकृष्ण चौधरीले बताए। 'बगरखेतीबाट प्रशस्त आम्दानी भइरहेको छ। लागत कटाएर दुई लाख रूपैयाँसम्म बचत हुन्छ', उनले भने, 'दुई बिघा पाँच कठ्ठा जग्गामा खेती गरेको थिएँ।'

उनले बगरखेती सकिएपछि रोजगारीका लागि भारत जाने गरेको बताए। 'सिजनमा राम्रो कमाइ हुने भएकाले यहाँ आउँछु अन्य बेला भारतमा रोजगारी गर्छु', चौधरीले भने, 'ग्राकहको पनि समस्या हुँदैन राजमार्गमा ओहोरदोहोर गर्नेहरुले किन्ने गरेका छन्।'

कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा झन्डै एकसय परिवार मुक्तकमैयाको बसोबास छ। कमैया मुक्तिको घोषणापछि पुनःस्थापना हुँदा सरकारले पाँच कठ्ठा जग्गा दिएको थियो।

खोला किनारको बलौटे जग्गामा अन्न नफल्ने भएकाले यहाँका स्थानीयलाई साँझबिहानको छाक टार्न निकै सकस हुने गर्दछ। परिवारको जोहो गर्नकै लागि बगरमा तरकारी खेती गर्नुपरेको मानमति रानाले बताइन्।

'कमाइखान जग्गा छैन बगर खेतीकै भर पर्नुपर्छ', रानाले भनिन्, 'बगरखेतीबाट सिजनमा दुई लाख रूपैयाँसम्म कमाइ हुन्छ, यसले छ महिना मात्रै खान पुग्छ।' उनले बाँकी समयमा मजदूरी गरेर जीविकोपार्जन गरिरहेको बताइन्।

खुसीरामा चौधरीले अन्य समयमा मजदुरीको काम गर्ने गरेको बताए। अहिले उनी बगरखेतीको उत्पादन बिक्रीमा व्यस्त छन्। 'राजमार्ग छेउमा तरबुजा, लौका, काँक्रा, फर्सी, घिरौँलालगायत तरकारी बिक्री गर्ने गरेको छु', उनले भने, 'दिनमा चार/पाँच हजारको बिक्री हुन्छ।'

पहिले भारतीय नागरिक आएर बगर तथा खाली जमिनमा तरबुजा, काँक्रा, लौका, फर्सीलगायतका खेती गर्दथे। अहिले कञ्चनपुरमा त्यसरी तरकारी खेती गर्ने भारतीय नागरिक निकै कम हुँदै गएका छन्। यसले एकातिर भारतबाट विषाक्त तरकारी आयात हुन रोकेको छ भने अर्कातिर नेपाली युवाहरुले रोजगारी पाएका छन्। रासस


प्रकाशित : सोमबार, जेठ ७ २०८११५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend