सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

भद्रपुरका कृषकलाई अनुदानमा धानको बीउ वितरण, बाली नलागे क्षतिपूर्ति उपलब्ध गराइने

सोमबार, जेठ ७ २०८१
भद्रपुरका कृषकलाई अनुदानमा धानको बीउ वितरण, बाली नलागे क्षतिपूर्ति उपलब्ध गराइने

प्रतिकिलो  ६० रूपैयाँदेखि ९५ रूपैयाँमा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो।

झापा- भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ। प्रतिकिलो  ६० रूपैयाँदेखि ९५ रूपैयाँमा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो।

नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले धानको बीउमा गुणस्तर नियन्त्रण गर्न दुई बीउ उत्पादक संस्थासँग सम्झौता गरेर वितरण गरिरहेको जानकारी दिए। उनले धानको बीउ नउम्रेमा, बाली नलागेमा बीउमा मिसावट देखिएमा वा बाली बिग्रन गइ आर्थिक क्षति भएमा बीउ उत्पादकले नै क्षतिपूर्ति उपलब्ध गराउने सम्झौता गरिएको बताए।

धानको उत्पादन तथा बीउमा गुणस्तर नियन्त्रणका लागि उत्पादकसँग सम्झौता गरी वितरण गर्न लागिएको भन्दै भद्रपुर पहिलो नगरपालिका भएको कृषि अधिकृत विमलीले दाबी गरिन्। उनका अनुसार नगरभित्रका किसानको मागका आधारमा २९ हजार आठ सय ८० किलो धानको बीउ खरिद गरी अनुदानमा वितरण गरिरहेको छ।

कृषि विकास शाखाका अनुुसार लल्का बास्मती, सुक्खाधान-३, बहुगुणी-१, बहुगुणी-२, सुद्धोधन कलानामक, साँवा मसुली सव-१, रामधान, स्वर्णा सव-१ र राधा-१२ जातका धानको बीउ खरिद गरिएको हो।

कृषि अधिकृत विमलीका अनुसार संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा गुणस्तरीय बीउबिजनको उत्पादन, आपूर्ति तथा वितरण प्रणालीको सुदृढीकरणका साथै स्वदेशी जातको बीउ प्रवर्द्धन गर्न धानको बीउवितरण गरिएको हो। उनले किसानका मागका आधारमा औसतमा ३० किलोसम्म बीउ उपलब्ध गराइरहेको जानकारी दिइन्।

कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन नगरपालिकाले समयसमयमा अनुदानमा बीउ वितरण गर्दै आएको कृषि विकास शाखाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, जेठ ७ २०८११५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend