सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण

सोमबार, जेठ ७ २०८१
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण

प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि देखिन थालेको कृषि प्राविधिक बताउँछन्।

म्याग्दी- लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको मकैखेती र फलफूलमा रोग तथा कीराको संक्रमण देखिएको छ।

खडेरीका कारण यस वर्ष गहुँ उत्पादनमा कमी आएपछि चिन्तित बनेका किसान मकै छर्ने समयमा पानी नपरेपछि उत्पादन हुने सबै ठाउँमा खेती गर्न सकेका छैनन्। खडेरीमा छरिएको मकै पानी परेपछि निकै ढिलोगरी उम्रेका र ती बिरुवामा पनि डडुवा र फौजी कीराको संक्रमण देखिन थालेपछि किसान चिन्तित बनेका हुन्।

मालिका-६ का किसान वीरबहादुर विश्वकर्माले मकैबालीका साथै फलफूल, तरकारी र कोसेबालीमा समेत औँसा र फौजी कीराको संक्रमण देखिन थालेको बताए।

जिल्लाको मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकालगायत बेनी नगरपालिकाका विभिन्न ठाउँमा गरिएको मकैखेतीमा रोगको संक्रमण देखिएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन्।

यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको संक्रमण प्रकोप देखिएको मालिका-१ निस्कोटका कृषक तीर्थबहादुर पुनले बताए। उनका अनुसार सुन्तला र केराखेतीमा पनि संक्रमण देखिन थालेको छ।

फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत तरकारी तथा फलफूलमा औँसा, घोगा लाग्न थालेका मकैमा फौँजी र केरा खेतीमा खपटे कीराको संक्रमण देखिएपछि किसान चिन्तित बनेका मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए।

प्रायःफल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको संक्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन्। किसानले लगाएका काँक्रा र पाक्न लागेका आरु, आरुपखडामा पनि औँसा कीराको संक्रमण भेटिएको उनको भनाइ छ।

मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिए। कीराको संक्रमणलाई थप फैलिन नदिन किसानलाई सचेत गराइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रकाअनुसार कृषि प्राविधिकले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको छ।

गोलभेँडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेका मङ्गला-५ का किसान विक्रम सेनले बताए। उनका अनुसार जिल्लाका अधिकांश स्थानमा लगाइएका मकै, फलफूल तथा तरकारीखेतीमा विभिन्न संक्रमणले क्षति पुर्‍याएको छ।

निस्कोट, रणबाङ, ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौर, रुम, देविस्थानलगायत क्षेत्रका किसानले लगाएको मकैबालीमा फौजी कीराको संक्रमण अत्यधिक देखिएको केन्द्रको भनाइ छ।

घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको मंगला-२ का प्रताप सापकोटाले बताए। उनका अनुसार विषादीलेसमेत कीराको आक्रमण रोकिन सकेको छैन।

बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरका किसानले लगाएका सयौँ रोपनी जमिनको मकै बालीमा फौजी कीराको संक्रमण देखिएको भन्दै कतिपय ठाउँमा विषादीलेसमेत समस्या समाधान नभएको कृषि प्राविधिक बानियाँले जानकारी दिए। कीराको संक्रमण नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराइँदै आइएको उनले बताए। 

यहाँका किसानले परम्परागतरुपमा लगाउँदै आएका मकैबालीमा फौजी कीराको आक्रमण बढी छ। जिल्लाको ज्यामरुकोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी कीराको आक्रमण बढेकाले बोट जोगाउनै मुस्किल परेको कृषि प्राविधिक बानियाँले बताए।

प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि देखिन थालेका कृषि प्राविधिक बताउँछन्।

फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्‍याउने बानियाँले बताए। जिल्लामा व्यावसायिकरुपमा गरिएको केरा र आलुखेतीमा पनि संक्रमण देखिन थालेकाले सबै समयमै सचेत भइ समाधानका उपाय खोज्नुपर्ने उनको भनाइ छ।

डढुवा रोगका कारण आलुका बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन्।

कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि संक्रमण कम नभएको बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताए। किराका साथै रातो कमिलासमेत देखिन थालेको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, जेठ ७ २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend