सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

आइतबार, जेठ ६ २०८१
धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

यसवर्ष आवश्यक मात्रामा पानी पर्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ।

काठमाडौं- यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि बढाउन कृषक वर्गमा अनुरोध गरेको छ।

धान रोप्नका लागि सुरुको चरणमा डीएपी मल बढी आवश्यक पर्छ। हाल कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया ५२ हजार १८, साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा २६ हजार ५० मेट्रिकटन गरी ७८ हजार १७९ मेट्रिकटन मौज्दात रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।

यसैगरी डीएपी मल कृषि सामग्री कम्पनीमा पाँच हजार चार सय ३४ र साल्ट ट्रेडिङ कम्पनीमा चार हजार ९२ मेट्रिकटन गरी नौ हजार पाँच सय २७ मेट्रिकटन गत वर्षकै मौज्दात रहेको छ। 

यसैगरी पोटास मल कृषि सामग्रीमा आठ हजार छ सय ९६ र साल्ट ट्रेडिङ कम्पनीमा तीन हजार एक सय छ मेट्रिकटन गरी ११ हजार आठ सय तीन मेट्रिकटन मौज्दात रहेको छ।

कृषि सामग्री र साल्ट ट्रेडिङले दुई लाख ४२ हजार एक सय १९ मेट्रिकटन युरिया मल आयात गर्दैछन्। यसैगरी दुवै कम्पनीले ९७ हजार आठ सय ६५ मेट्रिकटन डीएपी मल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ। 

कृषि सामग्रीले १२ हजार नौ सय ५८ मेट्रिकटन र साल्ट ट्रेडिङले सात हजार छ सय ४६ मेट्रिकटन पोटास मल गरी कुल २० हजार छ सय चार मेट्रिक टन मल आयात गर्दैछन्।

यो मल यसै हप्तादेखि असार दोस्रो सातासम्म नेपाल आइसक्ने मन्त्रालयका सूचना अधिकारी जोशीले बताए। पहिले आएको मल अघि रोपाइँ हुने जिल्ला र पछि आएको मलपछि रोपाइँ हुने जिल्लामा पठाउने गरी मन्त्रालयले व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटले बताए।

यसवर्ष आवश्यक मात्रामा पानी पर्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ। यसैले समयमै रोपाइँको तयारी गर्न मन्त्रालयले कृषकलाई आह्वान गरेको छ। 


प्रकाशित : आइतबार, जेठ ६ २०८११८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend