शनिबार, साउन १२ गते २०८१    
images
images
images

पोखरामा १० करोड लागतमा दुई सडक स्तरोन्नति र एक पुल निर्माण

images
आइतबार, जेठ ६ २०८१
images
images
पोखरामा १० करोड लागतमा दुई सडक स्तरोन्नति र एक पुल निर्माण

भदौरे निर्माण सेवा पोखराले निर्माण गरेको १४ मिटरको लम्बाइको पुल योजनाको निर्धारित समयभन्दा चार महिना अगाडि सम्पन्न भएको हो।

images

गण्डकी- गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा महानगरपालिका-१६ मा विभिन्न सडक तथा पुल निर्माण सम्पन्न भएका छन्। वडाभित्रका भूतेखोला मोटरेबल पुल, घुरकुना दाद्रे र्‍याले सडकका साथै भित्तेबजार सडक स्तरोन्नति सम्पन्न भएको हो। 

images
images

यी तीनवटै योजना आर्थिक वर्ष ०७९/८० मा सुरु भएर आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय कास्कीका सीडीई शोभियत खड्काले जानकारी दिए।

images

उनका अनुसार सम्पन्न योजनामध्ये भित्तेबजार सडक स्तरोन्नतिको ठेक्का सम्झौता रकम तीन करोड ८१ लाख रूपैयाँ भएकामा तीन करोड ७१ लाखमा सम्पन्न भएको हो। अमित बिल्डर्स खासाङ गाउँपालिका मुस्ताङले निर्माण गरेको सडक सात सय मिटर लम्बाइ तथा आठ मिटर चौडाइ रहेको छ।

त्यस्तै भूतेखोला मोटरेबल पुल तीन करोड २८ लाखमा सम्पन्न भएको छ। भदौरे निर्माण सेवा पोखराले निर्माण गरेको १४ मिटरको लम्बाइको पुल योजनाको निर्धारित समयभन्दा चार महिना अगाडि सम्पन्न भएको हो।

images

त्यस्तै वडाको घुरकुना दाद्रे र्‍याले सडक तीन करोड ५८ लाखमा सम्झौता भए पनि तीन करोड ७६ लाख लागत लागेको जनाइएको छ। बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु पर्दा लागत केही बढेको जनाइएको छ।

कुल तीन किमी सडकमध्ये आठ सय ४० मिटरमा कालोपत्र तथा बाँकीमा ग्राभेल र नाला निर्माण गरिएको छ। यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दूधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो।

सम्पन्न सडक तथा पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा सहर झर्ने क्रम बढ्नु चुनौतीपूर्ण भएको बताए।

विकास गाउँमा पुगेपछि त्यसबाट अधिकतम फाइदा लिँदै अर्गानिक खेती, घरबासलगायत काममार्फत पर्यटन मैत्री वातावरण सिर्जना गरी गाउँमा घुम्नका लागि पाहुना पुग्ने वातावरण तयार गर्नुपर्ने उनले बताए।

अर्मलामा बेलाबेलामा प्राकृतिक विपत्ति आएकोतर्फ संकेत गर्दै उनले प्रकृतिलाई बचाउने गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए। जनसङ्ख्या वृद्धि भए पनि खोलाघरलाई कायमै राख्नुपर्नेमा जोड दिँदै उनले निकास मिचेर नभइ निकास दिएर विकास गर्नुपर्ने आवश्यकता औँल्याए। 

कार्यक्रममा पोखरा -१६ का वडा सदस्य रामचन्द्र आचार्य, पूर्ववडाध्यक्ष जीवन आचार्य, स्थानीय लीलाधर आचार्य, श्यामलाल लामिछानेलगायतले वडाभित्रका विकास निर्माणका कार्य एवम् भोग्नुपरेका समस्यालगायतले प्रकाश पारेका थिए। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend