शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कालिकोटका सबै स्थानीय तह सडक सञ्जालसँग जोडिए

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ७ २०७८
कालिकोटका सबै स्थानीय तह सडक सञ्जालसँग जोडिए

मान्म- कालिकोटका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन्। रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन्।

नौ स्थानीय तहका ८२ वडामध्ये प्रायःजसोमा सडक पुगेको छ। रास्कोट नगरपालिकाका नौवटै वडामा सडक पुगेको उपप्रमुख मिमसरा बम शाहीले बताए। 'सबै वडा सडक सञ्जालसँग जोडिएका छन्', उनले भने, 'मूल सडक कालोपत्रे हुँदैछ भने अन्य वडामा कालोपत्रको तयारी छ।'

खाडाचक्र नगरपालिकाका ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया विष्टले जानकारी दिए।

'स्थानीय सरकार बनेपछि सबै वडामा सडक पुर्‍याएका छौँ', उनले भने, 'सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ।'

यस्तै तिलागुफा नगरपालिकाका ११ वटै वडामा पनि सडक पुगेको छ। सान्त्री त्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिकाका र पचालझरना गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएका छन्।

नरहरिनाथ गाउँपालिकाका नौमध्ये पाँच वडामा सडक पुगेको छ।  चार वडामा यसै आर्थिक वर्षभित्र सडक विस्तार गरिने अध्यक्ष धीरबहादुर विष्टले बताए।

वडा नं ८, ९, १, २ र ३ मा सडक बनेको छ। वडा नं ४, ५, ६ र ७ मा सडक खन्ने तयारी छ। शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही बाहेक अन्य वडा सडक सञ्जालले जोडिएका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिए। रासस 


प्रकाशित : बुधबार, पुस ७ २०७८०६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend