सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कोदोखेतीतर्फ बढ्दो छ पर्वतका किसानको आकर्षण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ४ २०८१
कोदोखेतीतर्फ बढ्दो छ पर्वतका किसानको आकर्षण

चालु आवमा कोदो बालीको प्रवर्द्धनका लागि किसानलाई पाँच लाख रुपैयाँ वितरण गरिएको छ। किसानलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको छ।

पर्वत- परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ। बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन्। 

पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन्। कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ। 

पहिले-पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो। पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला-ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ। कोदोको माग बढ्दै जान थालेपछि जिल्लामा व्यावसायिक रुपमा कोदोखेती गर्नतर्फ किसानलाई आकर्षण गर्न थालिएको जिल्लस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। 

केन्द्रले परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई अनुदान दिन थालेको हो। चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि केन्द्रले सहयोग गरेको छ। कोदोखेती गर्ने किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए। 

उनका अनुसार चालु आवमा कोदो बालीको प्रवर्द्धनका लागि किसानलाई पाँच लाख रुपैयाँ वितरण गरिएको छ। किसानलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको भन्दै यसले खेतबारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको उहाँको भनाइ छ।

किसानलाई कार्यबोझ घट्नाका साथै उत्पादन लागत समेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणमा सहयोग गरिएको कार्यालयले जनाएको छ। 

यसबाहेक परम्परागत जातका बालीका रुपमा रहेका फापर, धान, जौ, कोदोको प्रशोधनका लागि चार लाख रुपैयाँ अनुदान वितरण गरिने अधिकारीले बताए। पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ। 

जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले जानकारी दिए। यस वर्ष पर्वतमा आठ हजार तीन सय १० मेट्रिक टन कोदो उत्पादन भएको छ जसमध्ये पाँच हजार एक सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ।

२३ करोड २८ लाख ७५ हजार रुपैयाँ भित्र्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिक टन किसानले खाद्यान्न, बीउ र गाईभैँसीको दानाका रुपमा प्रयोग गरेका छन्। परम्परागत जातको कोदोको माग बढेपछि केही किसान व्यावसायिक उत्पादनमा लागेका छन्। जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ। 

पछिल्लो केही वर्षयता पर्वतको कुश्मा बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए। कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेका उनको भनाइ छ। माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको श्रेष्ठले बताए।

मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगवाट पीडितले कोदोको परिकार बढी मात्राा खाने गरेका छन्। अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन्। बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले बताए। कोदो उत्पादनका लागि प्रोत्साहनमूलक कार्यक्रम थालेसँगै क्षेत्रफल समेत बढ्ने केन्द्रको अनुमान रहेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११४:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend