सोमबार, जेठ ७ गते २०८१    
images
images

एडिस ट्याक्स इनिसिएटिभ कार्यशालाका लागि १६ देशका कर प्रशासक र विज्ञ नेपालमा

images
बुधबार, वैशाख २६ २०८१
images
images
एडिस ट्याक्स इनिसिएटिभ कार्यशालाका लागि १६ देशका कर प्रशासक र विज्ञ नेपालमा

कार्यशालाको प्रमुख उद्देश्य कर प्रणालीको निष्पक्षता, पारदर्शीता, दक्षता र प्रभावकारितामा सुधार गर्नु रहेको छ।

images
images

काठमाडौं- आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक कार्यशाला नेपालमा जारी छ। यहाँ जारी कार्यशालामा एटीआई सदस्य रहेका १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका ६० जनाभन्दा बढी प्रतिनिधि सहभागी छन्।

images
images
images

काउन्सिल अन इकोनोमिक पोलिसी (सीईपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले कार्यशाला आयोजना गरेको हो। कार्यशालाको प्रमुख उद्देश्य कर प्रणालीको निष्पक्षता, पारदर्शीता, दक्षता र प्रभावकारितामा सुधार गर्नु रहेको छ।

images

गत वर्ष फिलिपिन्सको मनिलामा सम्पन्न क्षेत्रीय कार्यशालाले एटीआईको कार्यशाला काठमाडौंमा गर्ने निर्णय गरेको थियो। कार्यशालाको उद्घाटन डा रामप्रसाद घिमिरेले गरे। उनले एटीआई सदस्य देशहरुले भोग्दै आएको वित्तीय चुनौती सामना गर्न कार्यशाला फलदायी हुने विश्वास व्यक्त गरे।

images
images

सदस्य मुलुकहरुबीच सहकार्य बलियो बनाउन, कर प्रशासनलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन तथा वित्त परिचालनमार्फत समावेशी र दिगो विकास लक्ष्य हासिल गर्न  कार्यशालाले मागदर्शन गर्ने उनको भनाइ छ। राजस्व परिचालन र कर छुटसम्बन्धी नीतिहरुमा समीक्षा गर्दै आगामी नीतिबारे सामूहिक धारणा बनाउन कार्यशालाले भूमिका खेल्ने सचिव घिमिरेले बताए।

images
images

कार्यशाला उद्घाटनमा एडिस कर सञ्चालक समितिका तर्फबाट एलिस्टेयर लोबोले कार्यशालाको उद्देश्य र कार्यक्रमबारे जानकारी दिएका थिए। एटीआईले स्थापनादेखि विकास साझेदार संस्था र साझेदार मुलुकबीच राम्रो सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा सहकार्यले थप गति पाउने बताए। उनले सदस्य राष्ट्रहरुले दिगो विकास लक्ष्य हासिलका लागि सहयोगी हुने कर प्रणाली अपनाउनुपर्नेमा जोड दिए।

संस्थाले आगामी दिनमा साझेदारीका साथै ज्ञान  आदानप्रदान, प्रभावकारी राजस्व परिचालन, नीतिगत सामञ्जस्यताका काम गर्ने विश्वास उनले व्यक्त गरे। एटीआईको घोषणापत्रअनुसार कर खर्चको पारदर्शीता बढाउन, लागत लाभ मूल्यांकन सहज बनाउन तथा करदातामाथि कर भार घटाएर उनीहरुको विश्वास जित्ने काम गर्नुपर्ने उल्लेख गरे। लोबोले कार्यशालाबाट निष्पक्ष र पारदर्शी कर प्रणाली विकास, क्षेत्रीय संयन्त्र विकास र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यस्तै नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास (यूएनडिपी) की आवासीय निर्देशक आयशानी मेडागाङ्गोडा लाबेले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक वित्त परिचालनका लागि कार्यशालाले प्रभावकारी भूमिका खेल्ने बताए। राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न एटीआई सदस्य मुलुकहरुले गरेको प्रयास सह्राहनिय रहेको उनको भनाइ छ।

एटीआईले सदस्य राष्ट्र बीच राजस्व परिचालनसम्बन्धी एजेण्डामा सहकार्य गर्दै आएको छ। आन्तरिक राजस्व वृद्धिका लागि प्रभावकारी राजस्व संकलन र परिचालन, सदस्य राष्ट्रहरुका बीचमा नीतिगत एकरुपता, ज्ञान, सीप र क्षमता अवभिवृद्धिका क्षेत्रमा एटीआईले जोड दिँदै आएको छ।

निष्पक्ष र प्रभावकारी राजस्व परिचालन, कर प्रणालीमा नीतिगत सुधार, साझेदारीमार्फत  दिगो विकास लक्ष्य हासिल, अनुभव आदानप्रदान, विकास साझेदारबीच समन्वय गर्ने उद्देश्यसहित इथियोपियाको राजधानी अदिस अबाबामा सन् २०१५ को जुलाइमा आयोजित विकासका लागि वित्तीय सम्मेलन (फाइनान्सिङ फर डेभलपमेन्ट) ले एटीआई स्थापना गरेको थियो।

सहभागीलाई करको अनुमान, रिपोर्टिङ, र मूल्यांकनका प्राविधिक पक्षका साथै कर प्रशासनमा प्रविधिको प्रयोग र भावी दिनमा सहकार्यका क्षेत्रबारे विज्ञले प्रशिक्षण दिनेछन्। कार्यशालामा नेपालका तर्फबाट संघीय संसद् सचिवालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका प्रतिनिधि सहभागी छन्। संस्थागत साझेदारका रूपमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधि सहभागी भएका छन्।

कार्यशालाले नेपालको कर प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउन क्षमता विकास गर्नुका साथै नेपालले कर प्रशासनका क्षेत्रमा हासिल गरेका अनुभबारे सदस्य राष्ट्रहरुलाई अवगत गराउन फलदायी हुने आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले बताउनुभयो ।

एटीआईमा नेपालसहित, दक्षिण एसियाका पाकिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तानका साथै बुर्किना फासो, क्यामरुन, इक्वेडर, इथियोपिया, जर्जिया, घाना, इन्डोनेसिया, केन्या, लाइबेरिया, माडागास्कर, मलावी, मोरिटानिया, मंगोलिया, नामिबिया, नाइजर, पाराग्वे, फिलिपिन्स, रुवान्डा, सेनेगल , सिएरा लियोन, सोलोमन टापु, तान्जानिया, गाम्बिया, टोगो, युगान्डा र जाम्बिया छन्।

एटीआईलाई विश्व बैंक, एसियाली विकास बैंक, अफ्रिकी कर प्रशासन फोरम, (एटीएफ), पश्चिम अफ्रिकी राज्यको आर्थिक समुदाय (इकोवास), ग्लोबल फाइनान्सियल इन्टिग्रीटी (जिएफआई),  ग्लोबल फोरम इन्टर अमेरिकन सेन्टर अफ ट्याक्स एडमिनिस्ट्रेशन (सिआईएटी) अन्तर्राष्ट्रिय बजेट साझेदारी (आईबीपी), पश्चिम अफ्रिकी कर प्रशासन फोरम (वाटाफ)लगायतले आर्थिक र प्राविधिक सहयोग गर्दै आएका छन्।

संस्थाको विकास साझेदारमा  विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, युरोपेली संघ, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली, दक्षिण कोरिया, लक्जमबर्ग, नेदरल्याण्ड, नर्वे, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विजरल्याण्ड छन्।रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०१:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend