आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सर्लाहीमा पूर्व-पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २९ २०८१
सर्लाहीमा पूर्व-पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

वन कार्यालयले समेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको हो। ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको छ।

सर्लाही- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ। 

पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवनेश्वर यादवले जानकारी दिए।

यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम भइरहेको हो। परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्र्याकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनियर यादवले बताए। 

चालु आर्थिक वर्षको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उनको भनाइ छ। यस खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको कामसमेत बाँकी रहेको छ। सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ।

हरिवन नगरपालिका-५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन। किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ।

वन कार्यालयले समेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको हो। ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताए। आयोजना ठेक्का लागेको छ वर्षमा मात्र ९० प्रतिशत हाराहारीमा काम सकिएको हो। 

यस योजनाको आर्थिक वर्ष २०७४/७५ मा ठेक्का लागेको थियो। लगत्तै ठेकेदार कम्पनीले निर्माण आरम्भ गरेको थियो। पछिल्लो समय बजेट अभावले समेत कामको गति सुस्त बनेको उनको भनाइ छ। ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ। रासस 


प्रकाशित : शनिबार, वैशाख २९ २०८११२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend