आइतबार, जेठ ६ गते २०८१    
images
images

वनमा डढेलो, बस्ती छिरेर बालीनाली सखाप पार्दै वन्यजन्तु

images
बुधबार, वैशाख २६ २०८१
images
images
वनमा डढेलो, बस्ती छिरेर बालीनाली सखाप पार्दै वन्यजन्तु

पछिल्लो समय सिरहाका दर्जनौँ सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु आहारा र बासस्थानको खोजीको लागि बस्ती छिरेका छन्।

images
images

सिरहा- एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गंगादेवी चौधरीको मन नमज्जाले कुँडिन्छ।

images
images
images

वर्षभरि खाने अन्न र तरकारीबाली जंगली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका-१६ स्थित तरेगणाकी गंगादेवी अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा छिन्।

images

'वर्षभरी खोने अन्न र तरकारी खेती बँदेल र नील गाईले सखाप गरे। दुम्सी र बाँदरले पनि हैरान पारिरहेका छन्। हुर्किँदै गरेका बालीनालीका कलिला मुन्टा नै खाइदिएपछि अब कसरी उब्जनी हुन्छ। यहाँ त बालिनाली जोगाउनै मुस्किल भयो हजुर', गंगादेवीले भनिन्। उनका अनुसार वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारीलगायत अन्य फलफूलका बिरुवामा समेत क्षति पुर्‍याएको छ।

images
images

सोही स्थानका सुकदेव चौधरीलाई पनि आफ्नो व्यावसायिक फलफूल बगैँचामा बिरुवा हुर्काउन र फल जोगाउन मुस्किल छ। पछिल्लो समय वन्यजन्तु खेतबारीमा पसेपछि निकै हैरानी खेप्नुपरेको उनको भनाइ छ।

images
images

'लिच्ची र आँपको मात्र करिब दुई सय बिरुवा लगाएको छु। त्यसैगरी अन्य फलफूलको बिरुवा हुर्किँदै छन् तर जंगली जनावरबाट जोगाउनै मुस्किल भयो,' चौधरीले भने, 'सामान्य विद्युतीय झड्का दिने तारबारले घेर्दा पनि समस्या सुल्झिन सकेको छैन। अब त स्थानीय सरकारले केही उपाय निकालेर हाम्रा बालिनाली जोगाइ दिनुपर्‍यो।'

पछिल्लो समय सिरहाका दर्जनौँ सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु आहारा र बासस्थानको खोजीको लागि बस्ती छिरेका छन्। त्यसैले स्थानीयलाई बालिनाली जोगाउन हम्मेहम्मे परेको वडाध्यक्ष गडुलबहादुर गर्जामगरले जानकारी दिए।

उनका अनुसार चैत नलाग्दै सुरू भएको डढेलो अहिले पनि आक्कलझुक्कल लागिरहेकै छ। स्थानीयवासीले आगोेबाट बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन्। त्यसैले अहिले नजिकैको वन उजाड भएका छन्।

'आगोबाट बस्ती जोगाइयो तर अन्नबाली जोगाउन सकिएन। आगलागीपछि ज्यान जोगाउन खेतखलियान प्रवेश गरेका वन्यजन्तु र किसानका लागि भने हैरानीका कारण बनेका छन्', वडाध्यक्ष गर्जामगरले भने, 'डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन्।' उनका अनुसार अन्य समयमा पनि जंगली जनावर बस्ती छिरे पनि जंगलमा डढेलोपछि भने अहिले बाक्लै मात्रामा गाउँतिर पस्ने गरेको छन्।

जंगल डढेलोले उजाड भएपछि कतिपय जंगली वन्यजन्तु गाउँघरका झाँडीतिर लुकेर बसेको अवस्थामा भेटिएको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताए। निरन्तर लागेको डढेलोले वन्यजन्तुले जंगलमा आफूलाई असुरक्षित ठानी गाउँ पस्ने गरेको हुनसक्ने अध्यक्ष चौधरीको भनाइ छ।

'मानवले वन्यजन्तुको घरमा असर पुर्‍याएपछि जंगली जनावर बस्तीतीर पस्नु स्वभाविकै हो। हामै्र सामुदायिक वनमा अहिलेसम्म तीनपटक डढेलो लागिसक्यो जसलाई नियन्त्रण गर्न हम्मेहम्मे पर्‍यो। अनि वन्यजन्तुले ज्यान जोगाउन त परिहाल्यो नि!'

वनबाट बस्ती छिरेका वन्यजन्तुबाट बालीनाली जोगाउन र सिकारीबाट वन्यजन्तु जोगाउन निकै सकस भइरहेको बताउने चौधरीले अब स्थानीय तहले यस्ता क्रियाकलापमा संलग्नहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए।

यता जिल्ला वन कार्यालय सिरहा, लहानले भने विगत दुई महिनादेखि जंगलमा डढेलो नियन्त्रण गर्न समस्या भइरहेका बेला मंगलबार रातिदेखिको सामान्य मनसुनी वर्षाले केही राहत भएको बताएको छ।

हालसम्म लहान नगरपालिकाको उत्तर चुरेतर्फ ४५ सामुदायिक वनमध्ये १२ वटा सामुदायिक वनको कुल ७० हेक्टर वनमा डढेलोले क्षति पुर्‍याएको कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए।

डढेलोका कारण बस्ती पसेर स्थानीयको बालीनालीमा क्षति पुर्‍याएका वन्यजन्तु र यही मौका छोपी वन जंगलमा चोरी सिकारी गर्नेमाथि वन कार्यालयले कडा निगरानी बढाएको सूचना अधिकारी चौधरीको भनाइ छ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले डढेलो नियन्त्रण गर्न नगरले दमकल सेवासहित आवश्यक जनशक्ति अहोरात्र खटेका र वन्यजन्तुबारेको गुनासोमा पनि आवश्यक सतर्कता अपनाइने बताए।

'मंगलबार पनि वडा नं १५ स्थित बानो गाउँको सामुदायिक वनमा आगलागी भएको खबर पाउनासाथ जनशक्ति र बारुण यन्त्रसहित म आफै घटनास्थल पुगेँ। स्थानीयवासी, सामुदायिक वनका सदस्य र वारुणयन्त्रको मद्दतले आगलागी समयमै नियन्त्रणमा आयो। अहिले भने वर्षाले केही राहत भएको छ', नगरप्रमुख चौधरीले भने।

उनी वन्यजन्तुले यहाँका किसानको बाली र तरकारीमा गरेको नोक्सानीको उचित क्षतिपूर्तिका लागि नगरपालिकाले आवश्यक योजना अगाडि सार्ने बताउँछन्। 'वनमा डढेलो लाग्दा वन्यजन्तु बस्तीमा पसेर दुःख दिएको र बालिनालीमा क्षति पुर्‍याएको विषयमा गुनासा आइरहेका छन्। त्यस विषयमा नगरले उचित कदम चल्छ', चौधरीले भने। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०१:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend