सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कृषि क्षेत्रको वृद्धिदर पाँच वर्षकै उच्च, अन्य क्षेत्र खुम्चिँदा जीडीपीमा कृषिको हिस्सा पनि विस्तार

मंगलबार, वैशाख २५ २०८१
कृषि क्षेत्रको वृद्धिदर पाँच वर्षकै उच्च, अन्य क्षेत्र खुम्चिँदा जीडीपीमा कृषिको हिस्सा पनि विस्तार

गत वर्षको तुलनामा वृद्धिदरमा सुधार देखिएकाले यसमा निराशभन्दा आशावादी हुने ठाउँ रहेको अधिकारीहरूले बताउने गरेका छन्।

काठमाडौं- चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.८ प्रतिशत हुने प्रक्षेपण छ। ६ प्रतिशतको वृद्धिदरको लक्ष्य पछ्याएको सरकारका लागि यो प्रक्षेपण अपेक्षित नभएपनि निराशाजनक भने होइन। 

गत वर्षको तुलनामा वृद्धिदरमा सुधार देखिएकाले यसमा निराशभन्दा आशावादी हुने ठाउँ रहेको अधिकारीहरूले बताउने गरेका छन्। 

जीडीपीमा महत्वपूर्ण स्थान ओगट्ने क्षेत्रमा अपेक्षित वृद्धि नहुँदा पनि अहिलेको प्रक्षेपण आउनुका पछाडि कृषि क्षेत्रको उत्पादन रहेको देखिएको छ। चक्रीय प्रभाव हुने कृषि क्षेत्रको वृद्धिदर उच्च हुँदा समग्रमा जीडीपीको वृद्धिदरमा प्रभाव देखिएको छ। 

कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशतले हुने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ। यो भनेको गत पाँच वर्षकै उच्च हो। यसअघि २०७५/७६ मा ५.१६ प्रतिशतको वृद्धिदर कायम भएको थियो। त्यसपछि तीन प्रतिशत कुनै पनि वर्ष पुगेको थिएन। 

कृषि क्षेत्रको उत्पादन बढ्नुमा धानको योगदान रहेको छ। यो वर्ष धान उत्पादनमा कीर्तिमान कायम भएको थियो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ५७ लाख २४ हजार टन धान उत्पादन भएको छ। यो गत वर्षको तुलनामा ४.३३ प्रतिशतले उच्च हो। धान खेती गर्ने क्षेत्रफल घटेपनि मल, बीउ तथा सिँचाइ सुविधामा भएको विस्तारले गर्दा धानको उत्पादन बढेको मन्त्रालयले दाबी गरेको छ। 

कुल गार्हस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको हिस्सा २४.०९ प्रतिशत पुगेको छ। यो क्षेत्रमा पनि धानको हिस्सा धेरै हुने भएकाले धान उत्पादनको वृद्धिदर समग्र आर्थिक वृद्धिदरमा समग्र प्रभाव पार्छ। अन्य क्षेत्रको उत्पादन खस्किँदा कृषिको हिस्सा विस्तार भएको छ। 

पछिल्ला वर्षहरूमा कृषि क्षेत्रको हिस्सा निरन्तर खुम्चिँदै आएपनि यो वर्ष वृद्धि हुने अपेक्षा गरिएको छ। यसमा कृषिकै उत्पादन बढेकाले भन्दा पनि अन्य क्षेत्रको संकुचनका कारणले हिस्सा बढ्ने अनुमान गरिएको छ। पछिल्ला ११ वर्षमा दुई वर्षमात्र जीडीपीमा कृषिको हिस्सा बढेको थियो। यो वर्ष पनि बढ्ने अनुमान गरिएको छ। 

खानी तथा उत्खनन्, उत्पादनमूलक उद्योग, निर्माणको हिस्सा खस्किएको छ। उत्पादन संकुचित भएपछि यी क्षेत्रको हिस्सा घटेको छ। 

सबैभन्दा महत्वपूर्ण होलसेल तथा रिटेल व्यापारको हिस्सा खुम्चिएको छ। जीडीपीमा गत वर्षसम्म १४.०९ प्रतिशत हिस्सा भएको यो क्षेत्र यो वर्ष १३.८४ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। यही कारणले पनि कृषिको हिस्सा जीडीपीमा बढेको देखिएको छ। 


प्रकाशित : मंगलबार, वैशाख २५ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend