सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मकैमा किराको सङ्क्रमणले किसान चिन्तित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २४ २०८१
मकैमा किराको सङ्क्रमणले किसान चिन्तित

बाँकेमा राप्ती सोनारी गाउँपालिकाको वैजापुर, फत्तेपुर, बिनौना, नेपालगञ्जको भवानीयापुर, बाबुगाउँ, डुडुवाको हिरमिनिया र खजुरा क्षेत्रमा किसानले बमौसमी मकैखेती गर्दै आएका छन्।

बाँके- बाँकेमा लगाइएको मकैबालीमा रोग तथा किराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । 

व्यावसायिकरुपमा बेमौसमी मकैखेती हुँदै आएको डुडुवा गाउँपालिका-६ हिरमिनियाको महन्तपूर्वालगायतका क्षेत्रमा रोग तथा किराको सङ्क्रमणले मकैमा क्षति पुगेको छ। डुडुवा-६ हिरमिनियाका किसान जियालाल यादवले मकै फल्ने बेलामा किराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको बताए। 

'मेहनत गरेर लगाएको बाली फल्ने बेलामा किराले खाएको छ, यो पटक मकैमा लगाएकाले लगानी पनि नउठ्ने भयो', बारीमा किराले सङ्क्रमण गरेको मकैका बोट देखाउँदै किसान यादवले भने, 'रोग लागेकाबारे गाउँपालिकाको कृषि शाखामा जानकारी गराए पनि उपचार हुन सकेको छैन।'

यादवको करिब १४ कट्ठा जमिनमा लगाइएको बेमौसमी मकैमा रोगको सङ्क्रमण देखिएको हो। पातमा किराले खाएर प्वाल पार्ने र विस्तारै बिरुवा सुक्दै जाने समस्या देखिएको उनको भनाइ छ। स्थानीय सावितराम यादवले सुरुमा लगाएको मकैबाली सप्रिए पनि पछिल्लो पटकको मकै बालीमा रोग किराको सङ्क्रमण देखिएको बताए।  

जिल्ला कृषि ज्ञानकेन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले कहिँकतै रोगको सङ्क्रमण देखिएको कृषकले गुनासो गरे पनि प्रकोपका रुपमा नरहेको उल्लेख गरे। उनले स्थलगतरूपमा अनुगमन गरेर मकैमा सङ्क्रमण गरिरहको किरा र रोगका बारेमा पहिचानका लागि स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको बताए। 

बाँकेमा राप्ती सोनारी गाउँपालिकाको वैजापुर, फत्तेपुर, बिनौना, नेपालगञ्जको भवानीयापुर, बाबुगाउँ, डुडुवाको हिरमिनिया र खजुरा क्षेत्रमा किसानले बमौसमी मकैखेती गर्दै आएका छन्।

बेमौसमी मकैखेतीका लागि राहत तथा अनुदानको कार्यक्रम नभए पनि किसानले स्वस्फूर्तरुपमा खेती गर्दै आएको किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, वैशाख २४ २०८११२:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend