शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अडानी समूहले नेपालको जलविद्युतमा गर्ने भनिएको ५ खर्बभन्दा बढीको लगानी तत्काललाई ‘होल्ड’

सोमबार, वैशाख २४ २०८१
अडानी समूहले नेपालको जलविद्युतमा गर्ने भनिएको ५ खर्बभन्दा बढीको लगानी तत्काललाई ‘होल्ड’

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र काटेर ४ हजार मेगावाट बिजुली उत्पादन र पूर्वपश्चिम जोड्ने उच्च क्षमताको प्रसारण लाइन बनाउने प्रस्ताव गरेका थिए।

काठमाडौं- भारतीय उद्योगी गौतम अडानीको व्यावसायिक समूह 'अडानी ग्रुप' नेपालको जलविद्युतमा लगानी गर्नबाट तत्काललाई पछि हटेको छ।

ठूला जलविद्युत र पूर्वपश्चिम जोड्ने प्रसारण लाइनमा लगानी गर्न अगाडि सरेका भारतीय अर्बपति अडानी तत्काल नेपालमा लगानी गर्नबाट हच्किएका हुन्। नयाँ गठबन्धन सरकारबाट तर्सिएको भारतीय संस्थापनसँगै अडानी पनि नेपालमा लगानी अहिले 'होल्ड' गर्ने पक्षमा पुगेका हुन्। 

अडानी समूहले जलविद्युत र विमानस्थल पूर्वाधारमा चासो दिएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गौतम अडानीले पत्र नै काटेर नेपालका ठूला जलाशययुक्त परियोजनामा लगानी गर्न इच्छुक रहेको जानकारी गराएका थिए।

उक्त पत्रसँगै तत्कालीन ऊर्जामन्त्री पम्फा भुसालले पनि सहकार्य गर्न भन्दै परियोजनाको सूचीसमेत तयार पार्न लगाएकी थिइन्। सोहीअनुसार परियोजना र प्रसारण लाइन निर्माणका लागि लगानी मोडालिटीमा छलफल भएका थिए। जसमा लगानी बोर्डले पनि प्रक्रियालाई अगाडि बढाइरहेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत निकट रहेका अडानी नेपालमा बनेको पछिल्लो गठबन्धनबाट हच्किएका छन्। सरकार अहिले चीनसँग अस्वभाविक नजिक रहेको आरोप लागिरहँदा भारतीय लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। सोही कारण अडानीले पनि परियोजना अगाडि बढाउन तत्काल नचाहेको ऊर्जा मन्त्रालय स्रोतको भनाइ छ।

अडानीले विभिन्न परियोजनामार्फत नेपालमा ३ हजार ८ सय ५१ मेगावाट विद्युत तत्काल उत्पादन प्रक्रिया अगाडि बढाउन काम सुरु गर्न लागेका थिए। जसको लगानी झन्डै ५ खर्ब रुपैयाँ हाराहारी हुने तय छ भने प्रसारण लाइनमा पनि एक खर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव भएको थियो। 

गतसाता सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा समेत अडानी आउने चर्चा थियो। तर अन्तिम समयमा आएर अडानीमात्रै नभएर उनको समूहबाट कोही प्रतिनिधिसमेत पठाइएन। समूहका उपाध्यक्ष जयरमन पुनिधन लगानी सम्मेलनअघि भएको हाइड्रो एक्स्पोमा आए तर सरकारले गरेको सम्मेलनमा आएनन्। अडानीमात्रै नभएर भारतका कोही पनि ठूला लगानीकर्ताको चासोमा गतसाता सकिएको तेस्रो लगानी सम्मेलन परेन। 

कर्णाली प्रदेशमा पर्ने फुकोट कर्णाली तथा तिला-१ र तिला-२ गरी तीनवटा जलविद्युत आयोजनामा तत्कालै लगानी गर्नसक्ने प्रस्ताव अडानी समूहले गरेको थियो। १० हजार मेगावाटको कर्णाली चिसापानी आयोजना र १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना निर्माणमा पनि अडानी ग्रुपले चासो देखाएको थियो।

अडानी समूहले नेपालमै पहिलोपटक ७६५ केभी क्षमताको पूर्वपश्चिम प्रसारण लाइन निर्माणको प्रस्ताव पनि गरेको थियो। जुन प्रसारण लाइन नेपालको ऊर्जा क्षेत्रको विकासका लागि कोशेढुंगा हुने थियो। 

भारतको पूर्वाधार क्षेत्र खासगरी ऊर्जा र प्रसारण लाइनमा धेरै नै ठूलो लगानी गरेको अडानी समूह नेपालका परियोजनाहरूमा काम गर्न गम्भीर ढंगले चासो दिएको थियो। तर नेपालको अस्थिर नीतिका कारण तत्काल लगानी नगर्ने पक्षमा देखिएको उच्च सरकारी अधिकारीहरुको बुझाइ छ। 

अहिलेसम्म नेपालमा अधिकतम ४०० केभीका मात्रै प्रसारण लाइन बनेका छन्। अडानी समूहले भारतमा साढे १८ हजार किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ, जसमध्ये अधिकांश ७६५ केभी क्षमताको छ। नेपालमा पनि त्यहीस्तरको प्रसारण लाइन निर्माण गर्ने अडानीको प्रस्ताव थियो। त्यसका साथै लम्की बेरली ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव पनि थियो। यो प्रसारण लाइन निर्माण हुँदा उसले उत्पादन गर्ने विद्युत मात्रै होइन, पश्चिम कर्णालीलगायतको बिजुली पनि भारत निर्यात गर्न सहज हुने थियो। 

पहिलो चरणमा अडानीले चारवटा जलविद्युत आयोजनामा लगानीको प्रस्ताव गरेका थिए। जुन तिला-१ र २, फुकोट कर्णाली र मुगु कर्णाली हुन्। तिला-१ जलविद्युत आयोजनाको क्षमता ४ सय ४० मेगावाट छ भने तिला-२ अयाोजना ४ सय २० मेगावाटको हो। तर यी आयोजनालाई क्रमशः ३ सय मेगावाट र २९७ मेगावाटमा बनाउने प्रस्ताव अडानीको थियो।  

त्यस्तैगरी फुकोट कर्णाली र मुगु कर्णाली आयोजना अहिले विद्युत उत्पादन कम्पनी मातहत छ। कालीकोटमै बन्ने फुकोट कर्णाली आयोजनाको क्षमता ४ सय ९२ मेगाावाट छ। त्यस्तै कर्णाली प्रदेशकै मुगु कालिकोट, हुम्ला तथा बाजुरा जिल्लामा बन्ने मुगु कर्णाली आयोजना जलाशययुक्त हो, जसको क्षमता १९०२ मेगावाट छ। यी आयोजना पनि अगाडि बढाउन अडानी समूह इच्छुक थियो। 


प्रकाशित : सोमबार, वैशाख २४ २०८११७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend